बविताः अखबार भित्रकी छोरी




एउटी सात वर्षीय बालिका
सामुहिक बलात्कार भएको समाचार पढ्दै गर्दा
मेरी सानी छोरी आगनमा चुङ्गी खेलिरहेकी छे

अखबारका पानामा आँखा टक्क अडिन्छ
अक्षरहरु बग्न थाल्छन आखाबाट
शब्दहरु चिच्याउन थाल्छन
वाक्यहरु तेसै बिस्फोट हुन थाल्छ
त्यही बेला छोरी बोल्छे
बाबा १ म कति ठुली भएकी छु ?

म छोरीलाई नसुनेको जस्तो गर्छु
अथवा छोरीलाई सुन्न चाहन्न
उनी फेरि चुङ्गीलाई ठ्याक लगाउन थाल्छे
कोमल पाउमा बजेको पाउजुको ताल सगै
बारीको डिलमा फुलेको जाईको फुल
उनको शिरमा नाच्न थाल्छ
पोहोर माइबेनी मेलामा
उनकी आमाले किनिदिएको चुरा
अहिले सागुरो भएर लागाउन छाडेकी छे
गएको साल बर्थ डेमा पाएको जामा
उस्तै सागुरो भइसकेको छ

फेरि अखबारको पानामा आँखा पुग्छ
‘बलात्कारीहरु छिमेकी नै भएको पुष्टी’

बाबा किन बोल्नु हुन्न ?
उनको प्रश्नलाई म जवाफ दिन्छु
छोरी गेटमा ताला लगाएर आउ त

चिचिला – २ याम्दाङ गाउँ
सङ्खुवा सभा

सम्बन्धित समाचार