नेकपा संसदीय दल बैठकः विराटनगर राजधानी पक्षधरको अल्पमत




बिराटनगर, असोज १६ गते । प्रदेश १ को नेकपा संसदीय दल बैठकमा दोस्रो दिन सम्म बोल्ने बक्ताहरुमा अत्यन्तै थोरैले मात्रै विराटनगर स्थायी राजधानी हुनुपर्ने तर्क प्रस्तुत गरेका छन् । दुइ तिहाइ सांसद भएको नेकपाले स्थायी राजधानीको टुंगो लाउनेगरि बैठक बसाएको थियो ।

हिजो र आज ४ बजे सम्म बोल्ने ४ दर्जन बक्ताहरुमा सबैजसोले स्थायी राजधानी विराटनगर अनुपयुक्त भएको बताए । राजधानी विराटनगर बाहिर धनकुटा, सुनसरी वा गोठगाउं हुनुपर्ने अधिकांश बक्ताहरुले बताएको स्रोतले बताएको छ । विराटनगर पक्षमा भने केहि सांसदहरुले मात्रै बोलेका छन ।

सांसदहरु साबित्री रेग्मी, लिलाबल्लब अधिकारी, यशोधा अधिकारी, कुल बहादुर साम्बा, बिजय विश्वास, बसन्ती देवि यादव लगायतले मात्रै विराटनगरको पक्षमा बोलेका थिए । सहभागी एक सांसदले भने, ‘अब संसदीय मत र जनमत दुवैमा विराटनगरमा स्थायी राजधानी बन्ने कुरामा एकमत देखियो ।’

चुनावमा गए विराटनगरबाट राजधानी उठ्ने संकेत

प्रदेश १ को दुइ तिहाइ सांसद भएको नेकपामा मात्रै हैन अन्य दलमा पनि विराटनगर राजधानी पक्षधर कम छन । कांग्रेसले घोषणा गरेको अस्थायी राजधानी विराटनगर नै स्थायी बनाउन केहि कांग्रेस नेताहरु लागेपनि अधिकांश त्यसको विरोधमा छन् ।

पार्टी र गुटको लाइनमा उनीहरुमा कमैले खुलेर नबोले पनि संसदिय चुनाव हुँदा भने स्थायी राजधानी विराटनगर स्थायि राजधानी नहुने निश्चित भएको छ । तीन साना दलमा संघिय लिम्बुवान मञ्च पनि राजधानी विराटनगर बाहिर हुनुपर्ने पक्षमा छ । विराटनगर आधार क्षेत्र भएका केहि नेकपा र कांग्रेस सांसद बाहेक अरु विराटनगरको विपक्षमा देखिएका छन् ।

‘सहमतिमा राजधानी राखे विराटनगरमा मन्त्रालय र मुख्यमन्त्री कार्यालय हुन सक्छ’, नेकपाका एक प्रभावशाली सांसद भन्छन, ‘प्रदेश सभा भने विराटनगर बाहिर हुनैपर्छ ।’ प्रदेशसभा बाहिर हुन पनि विराटनगर पक्षधरले अबरोध गरेमा भने संसदिय चुनावमा विराटनगरले पाएको राजधानी पनि गुम्ने त्यी सांसदले बताए । विराटनगर पक्षधर सांसदहरु भने राजधानी बनाउन दुइ तिहाइ चाहिने भन्दै एक तिहाइ बढि सांसदलाइ कन्भिन्स भए विराटनगर स्वतः राजधानी भइरहने बताउँदै आएका छन ।

मुख्यमन्त्री भने विराटनगरबाट राजधानी नसार्ने पक्षमा

मुख्यमन्त्री शेरधन राई भने विराटनगरबाट राजधानी नसार्ने पक्षमा रहेका छन् । बृहत्तर विराटनगरको रुपमा सबैलाइ समेट्न आवश्यक रहेको भन्दै विराटनगरबाट राजाधानी नजाने संकेत गरेका हुन ।

उनले सबै पक्ष र भुुगोलको मागलाइ सम्बोधन गर्दै राजधानीलाइ विराटनगरमै राख्ने र प्रदेश सभा विराटनगरबाहिर लग्ने तयारीमा देखिएका हुन् । उनले संचारकर्मीसँग सहमतीका आधारमा जाँदा विराटनगरको राजधानी अन्त नजाने भन्दै धेरै प्रेसर गरेर जान खोजे भोटिङको माध्यमबाट निर्णय हुने तर्क गरेका हुन् । तर, उनले भोटिङ गरेर नभइ सबैको भावनालाइ कदर गरेर जाने मनसाय बोकेको हुँदा स्पष्ट जनमत र सबैको भावना बुुझेर उपयुक्त निर्णय हुने जानकारी दिएका छन् ।

सम्बन्धित समाचार