मदिरा सेवनबाट वर्षमा ३० लाखको मृत्यु, बढी पुरुष कि महिला ?



संखुवासभा, असोज १६ गते । अत्यधिक मदिरा सेवनको कारण एक वर्षमा विश्वभरमा ३० लाख भन्दा धेरै मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हालसालै जारी गरेको वाषिर्क प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१६ मा मात्रै मदिरा सेवनको कारण ३० लाख भन्दा धेरैको मृत्यु भएको छ । जसमध्ये तीन चौंथाई पुरुष रहेका छन् । विश्वमा प्रत्येक २० जना मध्ये १ जनाको मृत्यु मदिरा सेवनको कारण भएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वभरमा लाग्ने रोगहरु मध्ये ५ प्रतिशत भन्दा धेरे रोग मदिराको अत्याधिक सेवनको कारण लाग्ने गरेमा उक्त प्रतिवेदनमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस अदानोम ग्रेब्रेइसस् भन्छन्, ‘धेरै मानिसहरु, उनीहरुका परिवार र समुदाय मदिराको हानिकारक प्रयोगबाट निम्तने हिंसा, चोटपटक, मानसिक स्वास्थ्य समस्या, क्यान्सर र हृदयघात जस्ता समस्याबाट पीडित छन् ।’

उनी भन्छन्, ‘स्वस्थ समाजको विकासक्रममा देखा पर्ने यस्तो गम्भिर चुनौतीबाट बच्नको लागि हामीले अहिलेबाट नै प्रयास गर्नुपर्ने अवस्था आएको छ ।’ मदिरा सेवनको कारण मृत्यु भएका मध्ये सबैभन्दा धेरै २८ प्रतिशतको सडक दुर्घटना, झैझगडा, हिंसा, लगाएतका कारण चोटपटक लागेर मृत्यु भएको छ ।

त्यस्तै २१ प्रतिशतको पाचन प्रणालीमा समस्याको कारण, १९ प्रतिशतको मुटुरोगको कारण र बाँकीको अन्य विभिन्न संक्रामक रोगहरुको कारण मृत्यु भएको छ । त्यस्तै विश्वभर।मा करिब २४ करोड पुरुष र पाँच करोड जति महिलाहरुमा मदिरा सेवनको कारण विभिन्न स्वास्थ्य समस्या रहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

मदिरा सेवनको कारण स्वास्थ्य समस्यासँग जुधिरहेका मानिस मध्ये सबैभन्दा धेरै यूरोपमा रहेका छन् भने अमेरिकी क्षेत्र दोस्रो स्थानमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा दुई अर्ब ३० करोड भन्दा धेरै मानिसले मदिरा सेवन गर्ने गर्छन् । अमेरिका, यूरोप र पश्चिमी प्रशान्त क्षेत्रमा आधा भन्दा धेरै जनसंख्याले मदिरा सेवन गर्ने गर्छन् ।

त्यस्तै प्रतिवेदनका अनुसार दक्षिण पूर्वी एसिया लगायत अमेरिका र पश्चिम प्रशान्त क्षेत्रमा मदिरा सेवन गर्ने मानिसको संख्या अबको १० वर्षमा अझै धेरै बढ्ने अनुमान छ ।

सम्बन्धित समाचार