टुटे–मुडे सडकः अन्तत फेरि दोश्रो पटक समय थपियो




सङ्खुवासभा, असोज २२ गते । गत जेठमा गृहमन्त्री रामबहादुर थापा बादल सङ्खुवासभा आउनुभएको बेला निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यवसायीलाई समय थप्नुको साटो कारबाही गर्ने भन्नुभएको थियो । निर्माण अवधिमा काम नगर्ने निर्माण कम्पनीको बिवरण समेत मन्त्रालय पठाउन जिल्ला प्रसासन कार्यालयलाई निर्देशन दिनुभएको थियो । नभन्दै २४ घण्टा भित्र ३२ वटा निर्माण ब्यवसायीको बिवरण मन्त्रालय पठाईयो ।

प्रतिनिधी सभाका सांसद राजेन्द्र गौतमले पनि यस अघि जिल्लाका सञ्चारकर्मीहरुसँगको कुराकानीको क्रममा निर्माण ब्यवसायीलाई समय नथप्ने बताउनुभएको थियो । विशेष गरि टुटे देउरालीदेखि मुडेसम्मको सडक निर्माणलाई कुनै हालतमा समय नथप्ने बताउनुभएको थियो । यस अघि पनि एक पटक समय थपिसकिएकोले निर्धारित समय भदौ महिना भित्र सम्पन्न नगरे ठेक्का रद्द गरेर अर्को निर्माण ब्यवसायीलाई काम गर्न लगाउने बताउनुभएको थियो ।

तर, अहिले न मन्त्रीको भनाई पक्का सावित भएको छ न त सांसदको नै । अन्ततः पुन दोश्रो पटक आगामी चैतसम्मको लागि निर्माण अवधी थपिएको छ । यसरी समय थप्ने बारे आफुलाई कुनै जानकारी विना नै समय थपिएको सांसद गौतमको भनाई छ । हालै जिल्लाका सञ्चारकर्मीहरुको प्रश्नमा सडक विभागका कर्मचारी र मन्त्रालयका पदाधीकारीहरु विच मिलेमतोमा आफुहरुलाई समेत जानकारी नदिई समय थपिएको गौतमको आरोप थियो । यस विषयमा हालै जिल्ला प्रसासन कार्यालयमा बसेको बैठकमा बोल्नुहुँदै सांसद गौतमले गुनासो पोख्नुभएको थियो ।
२६ करोडको लागतमा १२ किलोमिटर सडक पिच गर्ने गरि २०७२ सालमा सम्झौता भई निर्धारित समयमा काम सम्पन्न गर्ने भनिएको थियो । तर उक्त समयमा पनि काम सम्पन्न नभएपछि पुनः थपिएको समय भित्र पनि जम्मा ४० प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालयको तथ्याङ्कमा छ । यो काम गर्ने गतिले दोश्रो पटक थपिएको समयमा ५० प्रतिशत पनि काम सम्पन्न नहुने देखिन्छ । निर्धारित समयमा काम गर्न नसकिएपछि पछिल्लो समय सांसद गौतम आफै केहि दिन निर्माण क्षेत्रमा बसेर अनुगमन गर्न लाग्नुभएको छ । उक्त सडक निर्माणको लागि याक्थुमहाङ्ग निर्माण सेवाले ठेक्का लिएका हुन् ।

जिल्लामा बसेको सर्वदलिय बैठकले दशैँको बेलामा जिल्ला भित्रिने र दशै पछि बाहिरीने यात्रुहरुको सहजताको लागि तत्काल सडक मर्मत गरेर सहज सवारी आवागमन गर्ने वातावरण तयार गर्न निर्माण ब्यवसायीलाई आग्रह गरेका छन् । निर्धारित समयमा काम सम्पन्न नभएपनि यस बर्षको दशैमा सहज यातायातको लागि तत्काल बाटो मर्मत गर्न लगाईएको हो ।

सम्बन्धित समाचार