प्रदेश १ का सांसदले लगाए लोगो, कस्तो छ लोगो ?



विराटनगर, असोज २२ गते । प्रदेशसभा १ का सांसदहरुलाई सोमबार लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले सोमबार एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए । सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए । त्यसपछि क्रमश सरकारका सदस्यहरु साथै प्रदेश सदस्यहरुलाई सभामुख भण्डारीले लोगो वितरण गरेका थिए ।

उनले कार्य व्यवस्था परामर्श समितिले पार गरेको लोगो प्रयोगमा ल्याइएको जानकारी दिए । प्रदेश सदस्यहरुका लागि यसअघि नै खैरो रंगको कोट पोशाकको हकमा अनिवार्य गरिएको छ । यो लोगो सुनसरी इटहरीका कलाकार विक्रम श्रीले कला भरेका हुन् । प्रदेश सभा सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमुना माग गरेको थियो ।

प्रदेशसभा सचिवालयमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए ।त्यसमध्ये कलाकार श्रीले तयार कला भरेको लोगोलाई मान्यता दिइएको थियो ।

कस्तो छ लोगो ?

प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगोमा महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लालीगुराँसका थुङ्गा अनि त्यसभन्दा माथि धानका बालाले घेरिएको छ ।

त्यसैगरी लोगोमा प्रदेश १ का १४ जिल्लाको बीचमा सप्तकोसी नदी र त्यसको शीरमा सगरमाथा हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा भएको लोगो बनाइएको छ ।

प्रदेश १ का सभ्यतालाई प्रमुख आधार बनाएर लोगो तयार पारिएको छ । लोगोमा हिमाल, पहाड र तराई तीनै भागलाई प्रस्ट देख्न सकिने छ ।

अन्न भण्डार तराईका धानका बालादेखि प्रदेश १ मा रहेको गुराँसको राजधानीलाई मात्र नभइ पहिचान बनाएका भोजपुरे खुकुरीलाई समेत समावेश गरिएको छ । प्रदेश सभामा ९३ जना प्रदेश सभा सदस्य छन् । प्रदेश सरकार गएको ३ फागुन गठन भएको हो ।

सम्बन्धित समाचार