पदम बाः ढल्किदो उमेर, बढ्दो जोस



धर्मपत्नीका साथ पदमप्रसाद पौडेल ।

चैनपुर नगरपालिका वडा नं. ६ पौडेल गाउँ निवासी स्व.पिता प्रजापति पौडेल र स्व.माता पवित्रा पौडेलका छोरा सामान्य परिवारमा जन्म भएको पदम प्रसाद पौडेल ८२ वर्षे उमेरमा पनि आफु नथाकेको अनुभव गर्नुहुन्छ ।

जिल्लाकै पहिलो पत्रकारको रुपमा चिनिने पौडेल शिक्षण पेशाबाट अफ्नो कर्म शुरु गरेका थिए । भारतीय अभिनेता देवानन्दबाट प्रभावित चलचित्रकर्मी पौडेल अझै चलचित्रमा खेल्ने रहर नपुगेको बताउछन् । आफु शिक्षक हुँदा सधै आफ्ना विद्यार्थीहरुको चिन्ता लिइरहने पौडेल ३० वर्षको सेवा अवधिपछि अवकास पाएका थिए । २०३७ सालमा राष्ट्रिय समाचार समितिको प्रतिनिधि भई २२ वर्ष सम्म लगातार पत्रकारीताको भुमिका निभाए ।

पौडेल त्यस समयमा अहिले जस्तो समाचार लेख्न सहज नभएको बताउछन् । एउटा समाचार बनाउन सुचना, तथ्याङ्कहरु सङ्कलन गर्न पैदल हिडेर धेरै टाढा टाढा सम्म पुग्नुपर्ने, समचार तयार गरेर हुलाक र आवाको प्रयोग गर्नु पर्ने लगायतका अनुभवहरु अहिले सुनाउछन् । त्यसो त उनले राष्ट्रिय समाचार समिति काठमाण्डौद्धारा आयोजित एक कार्यक्रममा तत्कालीन सुचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालबाट सम्मानित समेत भइसकेमा खुशी व्यक्त गर्छन् ।

अथक परिश्रमी पौडेलको उमेरले ८० नाघेपनि अझै चलचित्र क्षेत्रमा उत्तिकै भुमिका रहेका छन् । नेपाली कथानक चलचित्र हामी तीन भाईबाट अभिनय यात्रा सुरु गरेका पौडेलले नालापानीसम्म आईपुग्दा ६८ वटा ठुलो पर्दामा अभिनय गरिसकेका छन् । रिमेश अधिकारीद्धारा निर्देशित चलचित्र नालापानी आगामी बैशाखबाट रिलिज हुने बताईएको छ । चलचित्र कलाकार संघका आजीवन सदस्य समेत बनिसकेका कलाकार पौडेल यस क्षेत्रमा १८ वर्ष विताइसकेको बताउछन् ।

पौडेलले ५२ वटा साना पर्दाको चलचित्रमा समेत अभिनय गरिसकेका छन् भने ९ वटा गीतको भिडियोमा अभिनय गरिसकेका छन् । त्यस्तै, विभिन्न विज्ञापनहरुमा समेत अभिनय कला प्रदर्शन गरिसकेका छन् । आफ्नै गृह जिल्ला संखुवासभामा सुटिङ भएको चलचित्र ‘ऐना झ्यालको पुतली’ रिलिज हुन बाकी रहेको बताउने पौडेलले सञ्चारकर्म र पत्रकारीता भन्दा बढी आनन्द चलचित्र क्षेत्रमा मिलेको वताउछन् ।

५ भाई छोरा २ बहिनी छोरी नाता नातिना परिवार र घरव्यवहारबाट अलग्गै रहेर चलचित्र क्षेत्रमा लागेका पौडेल आफुले गरेको कामहरु मध्ये कलाकारीतामा नै सबैभन्दा वढी सन्तुष्ट मिलेको बताउछन् । यस क्षेत्रमा लाग्न आफ्नी धर्मपत्नी देवकुमारी पौडेलको साथ र सहयोग मिलेको बताउछन् ।

सम्बन्धित समाचार