स्पेन पठाउने भन्दै छ जनासँग २० लाख लिएर एक युवा फरार



माेरङ ।  आकर्षक कमाई हुने भनेर प्रलोभनमा पार्दै स्पेन पठाउने भनेर एउटै परिवार भित्र नाता सम्बन्ध पर्ने छ जना व्यक्तिसँग २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेपछि एक युवा फरार भएका छन् । विराटनगर पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्दै आएका २४ वर्षीय रोशन श्रेष्ठ गैली वैदेशिक रोजगारीका लागि स्पेन पठाइदिने भन्दै पैसा उठाएर एक वर्षदेखि फरार बनेका हुन् । गैलीका विरुद्ध सोमबार श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ । ठगि गरेको पुष्टि भएपछि कार्यालयले गैलीलाई पक्राउ गर्न पूर्जी जारी गर्दै प्रहरी र अन्य सरकारी निकायमा पठाएको छ ।

उनले झापा बुद्धशान्ति गाउँपालिका–३ का हेमबहादुर माझी, टेकबहादुर माझी, विनोद माझी, अरुण माझी, झापा भद्रपुर नगरपालिका–३ की सीमा तामाङ र इलाम करफोकका अदित तामाङसँग पैसा उठाएका हुन् । पीडितहरुले ठगि गरेको पर्याप्त प्रमाणसहित उजुरी दिएको र ठगि गरेको पुष्टि पनि भएको बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । ‘उजुरी परेपछि अनुसन्धान थालिएको छ,’ उनले, ‘गैलीका नाममा पक्राउ पूर्जी जारी गर्दै देश भरीका प्रहरी कार्यालय र विभिन्न सरकारी निकायमा पठाइसकिएको छ ।’ भागेर विदेश जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यसतर्फ पनि रोक लगाइएको सञ्जेलको भनाइ छ ।

विराटनगर पिचराका २४ वर्षीय रोशन श्रेष्ठ गैलीले स्पेन पठाइदिने भन्दै ठगि गरेका मध्येकी सीमा तामाङ श्रम कार्यालय विराटनगरमा

झापा बुद्धशान्तिका लोकबहादुर माझीले पीडितहरु सबै आफ्ना भतिज, नाति र नातिनी पर्ने बताए । श्रम कार्यालयमा भेटिएका उनले आफू धेरै वर्ष स्पेन बसेको र त्यहाँबाट छ जनाका लागि भीषा लिएर आएको भन्दै छलेर र प्रलोभनमा पारेर गैलीले ठगि गरेको बताए । उनका अनुसार सबैलाई बैंक र आईएमईमार्फत रकम जम्मा गर्न लगाइएको थियो । लोकबहादुरले दुई महिना भित्रमा विदेश पठाउने भन्दै २०७५ साउनमा सबैसँग गैलीले पैसा लिएको बताए । आधा पैसा यहीं र आधा स्पेन पुगेर काममा लागेपछि दिनु भन्दै एक जनासँग लगभग साढे तीन लाख रुपैयाँ उठाएको उनको भनाइ छ । गैलीले स्पेन जानलाई एक जना बराबर सात लाख रुपैयाँ लाग्ने बताएको पीडितले श्रममा दिएको उजुरीमा उल्लेख छ ।

‘स्पेन लैजाने भन्दै काठमाडौं बोलाएर सबैको मेडिकल गर्ने काम पनि भयो,’ उजुरीमा भनिएको छ,‘ मेडिकल गरिसकेपछि श्रम गर्न भन्दै बोलाएर स्पेन लैजान्छु भन्ने व्यक्तिनै गायव बने ।’ लोकबहादुरका अनुसार स्पेन पुग्ने प्रलोभनमा परेर ठगिएका छ जनानै कोरिया जान परीक्षा दिने तयारी गर्दै थिए ।

सम्बन्धित समाचार