दाइजो नदिएको भन्दै एक महिलाको हत्या



रौतहट । केटी पक्षले दाइजो नदिएको भन्दै एक महिलाको हत्या गरेको आरोपमा श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ। बिहेमा मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका-७ अकोलवाकी २५ वर्षीया सन्जु देवीको हत्या गरेको आरोपमा श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा रामबाब र ससुरा मोहनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए। घटना शंकास्पद रहेकाले उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए। पोष्टमार्टमपश्चात् शव परिवारजनलाई जिम्मा लगाइएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए। सन्जुको बिहीबार साझ हत्या भएको मृतकका बाबु अविलास सहनीले बताए।

अविलासले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख भएअनुसार रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै सन्जुलाई कुटपिट गर्दथे। केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ।

बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरूले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको मृतकका बुबा अविलासको दाबी छ। केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान् र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाब दिने गरेको कुरा आफूलाई जानकारी गराएको बुबा अविलासले बताए।

सम्बन्धित समाचार