इञ्जिनीयर हत्या आरोपितलाई कैद सजायको फैसला



सप्तरी । सप्तरीको राजविराज–६ का इञ्जिनीयर हरिनारायण देवको हत्या आरोपमा सप्तरी महादेवा गाउँपालिका–१ का ४२ वर्षीय हरेराम यादवलाई कैद सजायको फैसला भएको छ । जिल्ला अदालत सप्तरीका न्यायाधीश उमेश कोइरालाको इजलाशले यादवलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको हो । यसैगरी अन्य आरोपित छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ३१ वर्षीय अजित सिंह भनिने अजय यादव, अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ का ३४ वर्षीय अविनाश भनिने उपेन्द्र यादव र ५५ वर्षीय श्रीप्रसाद मण्डललाई जनही एक वर्ष कैद सजायको फैसला भएको छ ।

जिल्ला अदालतले ०७१ फागुन ११ गते अजय, उपेन्द र श्रीप्रसाद्रको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो । आरोपित मण्डल २०७५ मङ्सिर ५ गते पक्राउ परेपछि ५० हजार धरौटीमा पुर्पक्षका लागि रिहा भएका थिए । सप्तरीको बोरियास्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज–६ स्थित घरतर्फ आइरहेका इञ्जिनीयर देवलाई घर नजिकै आरोपितले ०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरेको थियो । राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देव मृतक देवका भाइ हुन् ।

यसअघि पक्राउ परेका विष्णुपुर गाउँपालिका–५ का २७ वर्षीय गङ्गाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा शम्भुनाथ नगरपालिका मोहनपुरका २८ वर्षीय दिलजले भनिने उमेश राम र २९ वर्षीय देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो ।

सम्बन्धित समाचार