लोप हुँदै गएको कुस्ती खेलको संरक्षण



विराटनगरको फडानी चौकको खेलमैदानमा आयोजना गरिएको कुस्ती प्रतियोगितामा भारत र नेपालका पहलवानहरूको उपस्थिति रहेको थियो। कुस्ती खेललाई संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारतका ४० र नेपालका २५ जना पहलमानहरूको उपस्थिति रहेको थियो।

स्थानीय युवा सम्मिलित दिपावली तथा छठ पूजा समितिले आयोजना गरेको प्रतियोगितामा पहलमानहरूले आफ्नो कलाकौशल र शक्ति प्रदर्शन गरेका छन्। यस स्थानमा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा हजारौं दर्शकले सहभागिता जनाएका थिए। प्रतियोगितामा भारतको दिल्ली, जयपुर, पञ्जाब, लखनउ, बनारस र बिहारका ४० जनासहित नेपालका विभिन्न जिल्लाका २५ जना पहलमानहरू सहभागी भएका छन्।

कुस्तीलाई संरक्षण गर्ने उद्देश्यस्वरुप यस पटकदेखि कुस्ती प्रतियोगिता आयोजना गर्न सुरू गरिएको आयोजक समितिका अध्यक्ष रविन्द्रकुमार दास तत्माले जानकारी दिए।
खेलाडीको शारीरिक बिकाससँगै नेपाल र भारतका खेलाडीबीचको आपसी सम्बन्ध विस्तार गर्ने मुख्य उद्देश्यका साथ आयोजित कुस्ती प्रतियोगितामा ७५ केजीदेखि ११० केजीसम्मका पहलमानको उपस्थिति रहेको अध्यक्ष दासले बताए।

मौलिक परम्परा अनुसार आयोजना गरिएको कुस्ती खेलका सहभागीलाई हौस्याउन परम्परागत रुपमा ढोल बजाएर उत्साहित गरिएको थियो। नवलपरासीका पहलमान बसन्त थापा र भारतका प्रतिस्पर्धीबीच भएको कुस्ती प्रदर्शनले दर्शकलाई रोमाञ्चक बनायो।

तीन दशक अघिसम्म मोरङ, सुनसरी, सिरहा, सप्तरी र धनुषा लगायत मिथिलाञ्चलका विभिन्न क्षेत्रहरूमा उल्लेख्य संख्याका पहलमानहरू थिए। तर, पछिल्लो समय मनोरंजनका आधुनिक साधनहरूको बिकास भएपछि कुस्ती प्रतियोगिताको आयोजना शुन्य प्रायः भएपछि यो खेलबाट अधिकांश खेलाडीहरू पलायन भएका छन्।

सम्बन्धित समाचार