अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता बाट नेपाल पुलिस बाहिरियो



झापा। चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो।

चर्च ब्वाइजले पुलिसलाई १-० गोलको झिनो गोल अन्तरले पराजित। शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा निर्णायक गोल भएको थियो।

पहिलो हाफमै अग्रता लिने अवसर पुलिसले गुमाएको थियो। खेलको २३औँ मिनेटमा पुलिसले पेनाल्टी सुटको अवसर पाएको थियो। वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई तानेर लडाएपछि पेनाल्टी पाएको थियो।

तर, पेनाल्टी सुटमा सुमनकै प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि पुलिसको दुर्भाग्य सुरुवात भएको थियो। त्यसको ३ मिनेटपछि खेलमा चर्च ब्वाइज अग्रता बनायो।

खेलको २६ औँ मिनेटमा सुनील खड्काले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाए। उसका लागि भुवन बस्नेतको हेडरलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले भली गरेर बचाउने प्रयास गर्दा भएको रिबाउन्ड बललाई सुनिल खड्काले गोलपोस्टको दिशा दिएका थिए।

खेलको ५४औँ मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो। वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईलाई मुख्य निर्णायक प्रकाश श्रेष्ठले रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए। रातो कार्ड प्रतियोगिताकै पहिलो हो।

खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए। पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अधिकांश प्रहार गोलमा परिणत हुन सकेन। खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता चर्च ब्वाइजका सुनिल खड्का घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।

१० वटा टिम सहभागी गोल्डकपमा सोमबार त्रिुभवन आर्मी क्लबले चर्च ब्वाइजसँग फाइनल खेलमा भिड्नेछ। गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ।

सम्बन्धित समाचार