बोल धेरै गरेकैलाई स्वीकृति दिएको स्वीकार गर्दै ढाकछोपका लागि विज्ञप्ती जारी


११ श्रावण २०७८, सोमबार


 

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाले आइसियु सेवा संचालनका लागि आवश्यक सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेकोमा सबैभन्दा बढी रकम उल्लेख गर्ने बोलपत्रलाई नै स्वीकृत गरेको स्वीकार गरेको छ ।

बिहिबार अस्पताल प्रशासनले विज्ञप्ती जारी गर्दै सबैभन्दा बढी रकम कबोल गर्ने ¥यापिड टेडर्सलाई भेन्टिलेटर र आइसियु वार्डका सामाग्री आपुर्तिका लागि बोलपत्र स्वीकृत गरेको स्वीकार गरेको छ । विज्ञप्तीमा भनिएको छ, अस्पताललाई आवश्यक पर्ने २१ किसिमका सामाग्रीहरु मध्ये अन्य चार वटा फर्महरुले पेश गरेको सामग्रीको स्पेसिफिकेशन अनुसार नभएको, मापदण्ड नपुगेका र गुणस्तर नभएका सामाग्री खरिद नगर्ने निर्णय गरी खरिद प्रक्रिया अघि बढाइएको हो ।

यस्तै भेन्टिलेटर र आइसियु वार्डका सामाग्री आपुर्तिका विषयमा भएको प्रचारप्रसारको अस्पतालद्धारा गम्भीर ध्यानाकर्षण भएको भन्दै खेद प्रकट गरेको छ ।

अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अस्पताल प्रशासन र सामान आपूर्र्ति गर्ने कम्पनी बिच मिलेमतो भएको समाचार केही दिन अघि विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रशारण भएपछि संखुवासभामा अस्पतालभित्रको आर्थिक अनियमितताका बारेमा आम जनतामा चासो बढेको थियो ।

तर अस्पताल व्यवस्थापनले भने गलत कार्यलाई सच्याएर सत्यतथ्य बाहिर ल्याउन पर्नेमा उल्टै घटना ढाकछोप गर्न संचार माध्यमहरुले भ्रामक प्रचार गरेको विज्ञप्तिमार्फत आरोप लगाएको छ ।

झण्डै तीन करोड रुपैंयाको खरिद प्रक्रियामा खरिद ऐनको प्रावधान उल्लंघन भएको भन्दै आवश्यक छानवीन र कार्वाहीका लागि सामग्री आपूर्तिका बोलपत्रदाता द मेडिकल सोलुसन प्रा.लि.ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी परेपछि त्यहाँ भएको अनियमितताको रहस्य बाहिर आएको थियो ।

भेन्टिलेटर र आइसियु वार्डका सामग्री खरिद गर्न भन्दै जिल्ला अस्पताल संखुवासभाले २०७८ जेठ १६ गते काठमाडांैबाट प्रकाशन हुने मध्यान्ह दैनिक पत्रिकामा बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशन गरेको थियो । सोे सूचना अनुसार मेनका इन्टरप्राइजेज प्रा.लि., ¥यापिड टेडर्स, प्रोफेसनल मार्केटिङ प्रा.लि. युनाइटेड मेडिकल डिभाइस प्रा.लि. र द मेडिकल सोलुशन प्रा.लि. गरी पाँच बटा कम्पनीले बोलपत्र पेश गरेका थिए । उक्त सूचनामा भ्याट बाहेक २ करोड ६० लाख ५३ हजार १ सय १० रुपैंयाको सीमामा रही आपूर्ति मूल्य घटाघटबाट भेन्टिलेटर र आइसियु वार्डका सामग्री आपूर्ति गर्न योग्यता पुगेका कम्पनीहरुलाई बोलपत्र पेश गर्न आह्वान गरिएको थियो ।

उक्त बोलपत्रदाता कम्पनीहरुमध्ये ¥यापिड टेडर्सले सूचना बमोजिमको सामान आपूर्ति गर्न सबै भन्दा बढी रकम २ करोड ८८ लाख ५१ हजार १ सय ९३ रुपैया ९ पैसाको बोलपत्र पेश गरेको थियो भने मेनका इन्टरप्राइजेज प्रा.लि.ले सबै भन्दा कम २ करोड ५३ लाख ७० हजार ७ सय ६० रुपैंयाको बोलपत्र पेश गरेको थियो ।

सार्वजनिक खरिद ऐन अनुसार सबै भन्दा कम मूल्य कबोल गर्ने आपूर्तिकर्ता मेनका इन्टरप्राइजेज प्रा.लि.ले स्वीकृति पाउनु पर्ने थियो । तर जिल्ला अस्पताल संखुवासभाले २०७८ असार २८ गते मध्यान्ह दैनिकमा नै प्रकाशित बोलपत्र स्वीकृत गर्ने आशयको अर्को सूचना प्रकाशन गर्दै सामान आपूर्ति गर्न सबै भन्दा बढी रकमको बोली लगाउने ¥यापिड ट्रेडर्सलाई योग्य ठह¥याई स्वीकृतिका लागि सिफारिस गरेको छ ।

अस्पताल प्रशासनले भेन्टिलेटर र आइसियुका सामग्रीहरुको स्पेसिफिकेसन निर्माण र टेण्डर स्वीकृतिका लागि बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीलाई जिम्मेबारी दिएको थियो । इन्जिनियर चौधरी काठमाडौंको शिक्षण अस्पतालका जागिरे भएको बुझिएको छ । उनले पनि यो टेण्डर प्रक्रियामा सामग्री नै नहेरी अस्पतालले पठाएको कागजका आधारमा सिफारिस गरेर आफ्नो विज्ञतालाई दुरुपयोग गर्न संखुवासभाको जिल्ला अस्पताललाई अनुमति दिएका छन् ।

यस विषयमा इन्जिनियर चौधरीले आफूले काठमाडौंमा नै बसेर सबै काम गरेको स्वीकार गर्दै आफूले तयार गरेको स्पेसिफिकेसन अनुसार गुणस्तरीय स्वास्थ्य सामग्रीको वोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको दाबी गरे । तर उनै इन्जिनियरले सामान गुणस्तर मापन गरेको प्रमाणित कागजात अस्पतालसँग माग गर्दा खरिद प्रकृया सम्पन्न भइ नसकेको र उक्त कागजात दिन नमिल्ने भन्दै आएको छ ।

तर संचारकर्मीहरुले पटक पटक माग गर्दा पनि सम्बन्धित कागजात नदिइएको जानकारी पाएका आम जनता सोही कागजातमा नै समस्या हुनसक्ने टिप्पणी गर्न थालेका छन् ।

अस्पताल प्रशासनको यो नियत सार्वजनिक भएपछि अन्य कम्पनीहरुले बोलपत्र स्वीकृत गर्ने आशय पत्रको पुनरावलोकन गरि पाउँ भनी सम्बन्धित निकायहरुमा उजुरी दिएका छन् ।

सम्बन्धित समाचार