ताप्लेजुङ : अस्पताल परिसरभित्रै पक्की भवन, संक्रमित भने चुहिने टहरामा


१५ श्रावण २०७८, शुक्रबार


ताप्लेजुङ । जिल्ला अस्पताल परिसरभित्रै पक्की भवन खाली रहे पनि कोरोनाका बिरामी जस्तापाताको चुहिने टहरोमा सास्ती भोग्न बाध्य छन् । घाम लागे छानो तातेर छटपटिने उनीहरू पानी परे जस्ता बजेर निदाउन सक्दैनन् ।

अस्पतालको पश्चिमपट्टि प्लाईले बारेर कोभिड उपचार केन्द्र बनाइएको हो । १० शय्याको केन्द्र तीन महिनायता प्रायस् भरिइरहन्छ । साउनयता भने बिरामीको चापले नथेगेर जनरल वार्ड पनि भरिन लागेको छ । कतिपयलाई भुइँमै राखेर उपचार गरिँदै छ । बिरामीका अनुसार वर्षा भए भित्रै पानी चुहिन्छ ।

अस्पतालका प्रमुख डा। सोनिम लामा भने ठाउँ नभएर बिरामीलाई यसरी राख्न बाध्य भएको बताउँछन् । जबकि अस्पताल परिसरकै भवनलाई कोभिड बिरामीको उपचारमा प्रयोग गर्न सकिन्छ । त्यहाँ जिल्ला स्वास्थ्य कार्यालयको एकतले गोदाम, नेपाल नेत्रज्योति संघको दुइतले र स्वयं अस्पतालको प्रशासनिक भवन छन् । स्वास्थ्य कार्यालयका कर्मचारीको सरकारी निवास ९क्वार्टर० पनि छ । अस्पताल परिसरको बाहिरपट्टि नेपाल रेडक्रस सोसाइटीका दुईवटा भवन छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनका अनुसार नेत्रज्योति संघको भवनको भुइँ तला खाली छ । यहाँ शौचालयसमेत रहेकाले बिरामीलाई राख्न उपयुक्त छ । डा। लामाका अनुसार स्वास्थ्य कार्यालयको गोदाम पनि बिरामी राख्न उपयुक्त छ ।

नेत्रज्योति संघका सचिव खगेन्द्र अधिकारीले दोभान र पाँचथरको कुम्मायकमा राख्ने स्वास्थ्यकर्मीको तालिम चलिरहेकाले संघको भवन डेढरदुई महिना खाली नहुने बताए । स्वास्थ्य कार्यालयका हेमराज कठायतले जनस्वास्थ्य अधिकृत बिदामा रहेको र गोदामको चाबी नभएकाले आफूले जिम्मा लिन नसक्ने जनाए । रेडक्रसका मन्त्री विकास गौतम रेडक्रसको भवन चिसो ठाउँमा रहेकाले उपयुक्त नरहेको तर्क गर्छन् । बिरामीको चाप बढेसँगै जिल्ला अस्पतालले मंगलबार गरेको सर्वपक्षीय छलफलमा पनि सरोकारवाला निकायका व्यक्ति यस्तै तर्क गर्दै पन्छिएका थिएन ।

कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिमले भने स्वास्थ्य कार्यालयको गोदाम र नेत्रज्योति संघको पहिलो तला तत्काल खाली गराएर बिरामी राख्नुपर्नेमा जोड दिइन् । जिल्ला समन्वय समितिमा समेत कर्मचारीको संख्या न्यून भएकाले त्यहाँको भवन प्रयास गर्न सकिने उनले बताइन् ।

जिसस प्रमुख मादेनले कोभिड व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिदामा भएकाले उनी आउनासाथ बैठक बसेर निष्कर्षमा पुग्ने बताए ।

फुङलिङ नगरपालिकाले हेलिप्याडमा क्वारेन्टाइन बनाएको भए पनि अस्पतालबाट दुई किलोमिटरभन्दा टाढा भएकाले बिरामीको ल्याब परीक्षणलगायतमा समस्या हुने स्वास्थ्यकर्मीको भनाइ छ । अहिले तीन जना मात्रै डाक्टर भएकाले अस्पतालपरिसर भित्रै भए सबैखाले बिरामी हेर्न सहज हुने लामा बताउँछन् । ‘आएका बिरामी त्यसै फर्काउन मिल्दैन, हामीले भुइँमा राखेर पनि उपचार गर्नैपर्छ,’ उनले भने, ‘यसका लागि वातावरण मिलाइदिने काम सरोकारवालाले गरिदिए हुन्थ्यो भन्ने अपेक्षा हो ।’

१० शय्याको कोभिड उपचार केन्द्रमा अहिले १९ जना संक्रमित छन् । अस्पतालमै गरिएको एन्टिजेन परीक्षणमा मंगलबार फेरि २६ जना थपिएका छन् । १५ शय्याको अस्पतालमा थप ३५ शय्या पुर्‍याइएको छ । ‘अलिक सुधार देखिएकालाई समस्या भए आउनुस् भन्दै डिस्चार्ज गर्ने र भर्ना गर्नुपर्नेलाई थपिरहेका छौं,’ लामाले भने ।

सम्बन्धित समाचार