एमालेको निर्णय : साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसकिने


१८ श्रावण २०७८, सोमबार


काठमाण्डौ । नेकपा एमालेले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आज आइतवार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठक जारी छ । भोलि पनि बैठक हुन्छ । आज हामीले पार्टी सदस्यतालाई नवीकरण गर्ने र अद्यावधिक गर्ने समय सीमा तय गरेका छौँ । पहिले नै निर्देशन दिइसकेको हो । अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीले, खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीको तर्फबाट सदस्यता नवीकरण र अद्यावधिक गर्ने कुरा केन्द्रमा पठाइ सक्नुपर्छ । भदौ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौँ, त्यसका लागि यो गर्नुपरेको हो । विधान महाधिवेशनका लागि सदस्यता नवीकरण, अद्यावधिक गर्ने कुरा टुङ्ग्याइ सक्नुपर्ने भएकाले निर्णय गरेका हौँ ।’

महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताउनुभयो । विधान अधिवेशनका सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशव्यापी रूपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्छौँ र असोज ९ गते हामी पालिकास्तरको अधिवेशन गरिसक्छौँ । विधान अधिवेशन सम्बन्धमा अरू टुङ्गो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्दैछौँ ।’

सम्बन्धित समाचार