सहकारीको रकम हिनामिना प्रकरण : साढे दुई लाख धरौटी बुझाएर गाउँपालिकाका अध्यक्ष रिहा


१९ श्रावण २०७८, मंगलबार


दाङ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी आज सोमवार साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा छुट्नुभएको छ । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दाङ जिल्ला अदालतले तोकेको धरौटी बुझाएर उहाँ तारेखमा छुट्नुभएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले गाउँपालिकाका अध्यक्ष अदालतले तोकेको धरौटी बुझाएर धरौटीमा रिहा हुनुभएको जानकारी दिनुभयो । सहकारीको पाँच करोड रुपैयाँ हिनामिना प्रकरणमा जिल्ला अदालतले २५ प्रतिवादीमध्ये सोमवार गरेको यो पहिलो कारबाही हो ।

सहकारीका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको अभियोगसहित गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता गराएका थिए । त्यसैका आधारमा जिल्ला अदालत दाङले गाउँपालिकाका अध्यक्षसहित २० जनाविरुद्ध ३५ दिने म्यादसहित पक्राउ पुर्जी जारी गरेको थियो । सोमवार घोराहीमा रहेको जिल्ला अदालतमा आफैँ उपस्थित हुनुभएका गाउँपालिकाका अध्यक्षसँग अदालतले साढे दुई लाख रुपैयाँ धरौटी मागेको थियो ।

यसअघि नै सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपानेलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

रकम हिनामिनाको आरोपितमध्ये कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित १९ जना अझैँ अदालतमा उपस्थित भएका छैनन् । उनीहरू अझै फरारको सूचीमा रहेका छन् ।

सम्बन्धित समाचार