न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझायो


२२ श्रावण २०७८, शुक्रबार


काठमाण्डौ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठन भएको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । कार्यदलले साझा कार्यक्रमलाई हिजो अन्तिम रुप दिएको थियो ।

सरकारले गर्ने काम र सरकारको प्राथमिकता निर्धारण गरिएको न्यूनतम साझा कार्यक्रमअनुसार सरकार सञ्चालन गर्ने पाँच दल आबद्ध गठबन्धनको तयारी छ । त्यसैअनुसार सरकारको योजना, गर्ने काम र सरकारको प्राथमिकता समेटेर साझा कार्यक्रम तयार पारिएको हो । साझा कार्यक्रममा कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखिएको छ ।

कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रमको प्रस्तावमा गठबन्धनको सम्बन्धलाई बलियो र दिगो बनाएर आउँदो चुनावसम्म अघि बढाइने भनिएको छ । यसैगरी विगतको पाठ र अनुभवबाट पाठ सिक्दै संसदलाई पूर्ण कार्यकाल सञ्चालन गर्ने योजना पनि कार्यक्रममा उल्लेख छ । यसैगरी सरकार सञ्चालनका लागि शीर्ष तहको छलफल र सहमतिबाट उच्च स्तरीय संयन्त्र बनाउन सकिने विषय पनि कार्यदलले तयार बनाएको न्यूनतम साझा कार्यक्रमको प्रस्तावनामा उल्लेख छ ।

पाँच राजनीतिक दल आबद्ध सत्ता गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेको थियो । प्रतिवेदनमाथि शीर्ष नेताले छलफल गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।

सम्बन्धित समाचार