कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेका नागरिकले पर्सिदेखि खोप पाउने


२३ श्रावण २०७८, शनिबार


काठमाण्डौ । कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि पर्सिदेखि खोप अभियान सुरु हुने भएको छ । हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाण्डौ ल्याइएको तथा आज र भोलि जापानबाट ८ लाख डोज एस्ट्राजेनेकाकै खोप आउने भएकाले पर्सिदेखि दोस्रो डोजको खोप अभियान सुरु हुन लागेको हो ।

यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका नागरिकलाई यो खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार पर्सि सोमवारदेखि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप लगाइनेछ ।

प्रदेश १ र प्रदेश २ मा केही दिन ढिला हुने भए पनि यो महिनाभित्र सुरु भइसक्ने पनि उहाँले उज्यालोलाई जानकारी दिनुभयो । गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका झण्डै १४ लाख नागरिकले कोभिसिल्डको पहिलो मात्रा लगाएका थिए ।

पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भनिए पनि भारतले सम्झौताअनुसार १० लाख डोज खोप नदिएपछि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिक दोस्रो मात्रा लगाउनबाट वञ्चित हुँदै आएका छन् । जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने खोपको पहिलो खेप आज काठमाण्डौ ल्याउन लागिएको हो ।

जापानले दिन लागेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज र भोलिमा ८ लाख डोज खोप काठमाण्डौ आइपुग्ने खोप शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार जापानले उपलब्ध गराउने बाँकी ८ लाख खोप पनि यो महिनाभरि ल्याउने तयारी छ ।

सम्बन्धित समाचार