प्रदेश १ पत्रकार महासङ्घले एक करोडको पत्रकार कल्याण कोष स्थापना गर्ने


२५ श्रावण २०७८, सोमबार


इटहरी । पत्रकारको सुरक्षालाई ध्यानमा राखेर ुपत्रकार कल्याण कोष प्रदेश १ु स्थापना हुने भएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश १ समितिले कुनै पनि महामारी, विपद् र पत्रकारहरूका समस्याहरूमा परिचालन गर्ने गरी १ करोड रुपैयाँ बराबरको ुपत्रकार कल्याण कोष, प्रदेश नं। १ु स्थापना गर्ने निर्णय गरेको हो।

महासङ्घ १ प्रदेश समितिको साउन २४ गते आइतबार विराटनगरमा बसेको बैठकले पत्रकारको सुरक्षा र हक हितमा लागिपर्ने निर्णय गरेको छ। लिलाबल्लभ घिमिरेको अध्यक्षता र महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा बसेको सो बैठकमा केन्द्रीय सदस्यद्वय अमर खड्का र सरिता बराइलीको पनि उपस्थिति जनाएका थिए ।

बैठकले कोरोना महामारीको बहानामा पारिश्रमिक कटौती गर्ने, बिदामा बस्न दबाब दिने र लामो समयदेखि पारिश्रमिक नदिने जस्ता समस्या देखिएकाले तत्काल समस्या समाधान गर्न सबै सञ्चार गृहहरूलाई आग्रह गर्ने निर्णय गरेको छ । समयमै तलब भुक्तानी नभए सङ्घर्षमा उत्रने र सङ्घर्षका अभियानमा सामेल हुने महासङ्घले जनाएको छ।

कोरोनाको कारण पत्रकार तथा स्वरोजगार मूलक मिडियाहरू बढी प्रभावित हुन पुगेको सन्दर्भलाई गम्भीर रूपमा लिई पत्रकार र स्वरोजगार मूलक मिडियाहरूको उत्थानका लागि प्रदेश सरकार सँग समन्वय भइरहेको जानकारी गराइएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले कोरोना सङ्क्रमणको कारण ज्यान गुमाएका पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आइसोलेसनमा रहनुभएका महासङ्घ प्रदेश समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार विक्रम लुइँटेलसहित सबै पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। कोरोना महामारीको दोस्रो लहरबाट अहिलेसम्म प्रदेश १ का चार जना पत्रकारले ज्यान गुमाएको र १२५ जना सङ्क्रमित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि केन्द्रीय समितिले प्रदान गर्दै आएको परिचयपत्र अब प्रदेश समितिमार्फत वितरण गर्ने निर्णय भएको छ। कोरोना महामारीबाट सङ्क्रमित भएर बिमा दाबी गर्ने पत्रकारहरूलाई तत्काल बिमा रकम भुक्तानी हुने गरी कम्पनीलाई खबरदारी गर्दै महासङ्घले सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

प्रदेश पत्रकार महासङ्घको कामलाई व्यवस्थित गर्न भन्दै कार्यबिभाजन गरिएको छ । जसमा सङ्गठन विभागको जिम्मेवारी महासचिव विवेक गौतमले पाएका छन्। उपाध्यक्ष हिमाकुमारी चेम्जोङको संयोजकत्वमा महिला विभाग, सचिव सन्तोष यादवको नेतृत्वमा समावेशी विभाग र सदस्य पीवी दियालीको संयोजकत्वमा दलित विभाग गठन गरिएको छ ।

महासङ्घ प्रदेश समितिको आफ्नो वेभ पोर्टल निर्माण गरी गतिविधि, प्रदेशमा रहेका महासङ्घका सदस्यहरूको विवरण, शाखाहरूको सदस्यसहित विवरण नियमित अद्यावधिक गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार