धनकुटा । राष्ट्रिय गौरवको परियोजना कोशी करिडोर २२० केभीले क्षतिपूर्ति नदिएको परियोजना प्रभावितले गुनासो गरेका छन्। साँगुरीगढी गाउँपालिका–६ कटहरेका बाबुराम राईले करिडोरले आफ्नो घर नजिकैबाट जबर्जस्ती विद्युतको पोल गाडी तार टाँगेर लगे पनि क्षतिपूर्ति नपाएको बताएका हुन्।
राईले आफ्नो घर नजिकै पोल नगाड्न र प्रशारण लाइन विस्तार नगर्न पटकपटक अनुरोध गर्दा पनि स्थानीय प्रशासनले सशस्त्र र जनपथ प्रहरी राखेर जबर्जस्ती काम गरेको बताए। परियोजनाका मुख्य व्यक्ति सोम पौडेल, इन्जिनियर सत्रुधन यादव र जिल्ला प्रशासन कार्यालय धनकुटामा लिखित निवेदन दिँदा पनि सुनुवाइ नभएको पीडित राईको परिवारले गुनासो गरेका छन्।
राईको ८५ वर्षीया आमा श्यामश्वरीसहित नौजनाको परिवार हाल उक्त घरमा बसोबास गरिरहेका छन्। विद्युतको पोल गाडेको स्थान र घरको दूरी पाँच मिटर पनि टाढा छैन। ५०–६० वर्षदेखि कटहरेमा बसोबास गरिहेका राईको जम्मा पाँच रोपनी जग्गा स्वर्गीय बुवा नरधे राईको नाम रहेको बाबुरामले बताए। जसमध्ये करिडोरले १४ आना जग्गा पोल गाडेको छ।
सुरुमा पोल गाड्नको जग्गाको विषयमा कुरा मिलाउँदा घर छेउमा नपर्ने र कुनै किसिमको असर नगर्ने भने पनि अहिले घरै नजिक जबर्जस्ती पोल गाडेर समस्या उत्पन्न गरेको राईको गुनासो छ। उनीहरुले १४ आना जग्गा परियोजनालाई पोल गाड्न दिए बापत २ लाख ६५ हजार रुपैयाँ समेत मुआब्जा लिएका छन्।
वावुरामका छोरा रमन राईले भने‚ ‘म वैदेशिक रोजगारीमा गएको बेला घरका आफ्नो सोझा सिधा आमाबाबुलाई कोशी करिडोरले फसाए छ। विदेशबाट आएर पनि पटकपटक प्रमुख जिल्ला अधिकारीसँग र परियोजनाका धनकुटा तेह्रथुम इन्चार्ज सोम पौडेलसँग कुरा राख्दा पनि सुनवाई नगरी प्रहरी लगाएर दबाब दिएर काम गरे।’
अहिले उनको नौजनाको परिवार बस्ने घर, गाईवस्तुको गोठ, ग्वाली, भान्सा घर र खेतीपाती गर्ने करिव चार रोपनी २ आना जग्गा हाइटेन्सन लाइनमुनि परेको छ। यस विषयमा हारगुहार गर्दा तत्कालीन प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले घरमाथिबाट करिडोरको तार परेकाले पहिले बावुरामको परिवारलाई व्यवस्थापन गरेर मात्र काम गर्न भन्दै परियोजनाको काम रोकेका थिए। तर, पछि सरुवा भएर धनकुटा आएका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र हालका प्रमुख जिल्ला अधिकारी कृष्णराज पन्तले भने जबर्जस्ती प्रहरी लगाएर काम गरेको पीडितको गुनासो छ।
उक्त विषयमा प्रमुख जिल्ला अधिकारी कृष्णराज पन्तले राष्ट्रिय गौरवको आयोजनामा पीडितको गुनासो सम्बोधन गरेर मात्रै काम गर्न निर्देशन दिएको बताए। पन्तले भने‚ ‘धनकुटा जिल्लाका आयोजना प्रभावित जतिलाई सिफारिस भए अनुरुपको क्षतिपूर्तिको निर्णय समेत भइसकेको छ र सबैले पाएका छन, अन्य गुनासा पनि सम्बोधन गर्न भनिएको छ।’
परियोजनाका धनकुटा तेह्रथुम इन्चार्ज सोम पौडेलले भने यो विषय मिलिसकेको बताए। उनले आफूहरुलाई करिडोर कार्यालयको सर्भेक्षकले दिएको रिपोर्टअनुसार बाबुरामको घरलाई क्षतिपूर्ति दिनु नपर्ने देखिएको बताए। आफूहरुलाई सर्भेक्षकले दिएको रिपोटमा बाबुरामको घर विद्युतको पोल गाडेको मध्य भागदेखि १६ मिटरको दूरीमा परेको दाबी गरे। पोलको मध्य भागदेखि १५ मिटर दूरीमा घर परेमा क्षतिपूर्ति पाउने पौडेलले बताए। पोल विस्तार गर्दा करिडोरको १५ मिटर दाहिने पटि भित्र नपरेको र पुन नापी गर्ने सहमति भएको पौडेललको भनाइ छ। अझै पनि आधिकारिक सर्भेक्षक मार्फत नापेर १५ मिटरभित्र पर्ने गरी प्रमाण पुर्याएर कागज बनाएर ल्याए घरको क्षतिपूर्ति दिन सकिने उनको भनाइ छ।
यता नेपाल आदिवासी जनजाति महासंघ धनकुटाले पीडित परिवारलाई उचित क्षतिपूर्ति र स्तानान्तरण गरेर मात्रै कोशी करिडोरको काम अघि बढाउन अनुरोध गरेको छ। प्रहरी प्रशासनले पीडित परिवारको चित्त नबुझाई काम गरेमा जनजाति महासंघले पीडितलाई न्याय दिलाउन जस्तोसुकै आन्दोलन गर्न तयार रहेको महासंघ धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राईले चेतावनी दिए।
कोशी करिडोर २२० केभी प्रशारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ। सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १०६ किलोमिटर २२० केभी डबल सर्किट प्रशारण लाइनको निर्माण सम्पन्न भएको हो। प्रशारण लाइनका लागि ३२६ वटा टावर निर्माण गरिएको छ।
प्रतिक्रिया