लुम्बिनीमा एमालेको अवरोधपछि प्रदेशसभा बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ।

एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमन पश्चात् चार दलीय गठबन्धन सरकारमा पुगेपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो।

एमालेले आफुले बर्खास्त गरेका दुई सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाए पनि पदमुक्त नगरेसम्म सदन चल्न नदिने जनाएको छ।

एमालेले हृदयेश त्रिपाठीको समूहका सूर्य चिन्हबाट चुनाब जितेका अजय शाही र माओवादी रोजेकी विमला कुमारी वलीलाई पार्टी विधानविपरीत काम गरेको भन्दै सांसद पदबाट बर्खास्त गरेको छ। सो पत्र अनुसार उनीहरु पदमुक्त भएको जानकारी गराएपछि मात्रै सदन चल्न दिने एमाले मुख्य सचेतक भूमिश्वर ढकालले जनाए।

सदन शुरु भएलगत्तै उनले समय लिएर बोल्दै सदन चल्न नदिने जानकारी गराएका थिए। ढकालले एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने र विधान विपरित गतिविधि गर्ने आफ्ना २ सांसदलाई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरे।

ढकालले संसद अवरोध गर्ने बताए पनि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको र मन्त्रिमण्डल गठनको पत्र पढेर सुनाएका थिए। विपक्षी एमालेले अवरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले भोलि बुधबार दिउसो १ बजे सम्मको लागि बैठक स्थगित गरेका हुन्।

सम्बन्धित समाचार