संखुवासभाको खाँदबारी नगरपालिका –२ चेवाका ४० बर्षीय सुमन बर्देवालाई उपचारका लागि २६ हजार ७ सय सहयोग प्राप्त भएको छ । दुवै मिगौला फेल भएर उपचार गराईरहेका उनलाई खाँदबारी एफएम लिसनर ग्रुप, हेलो खाँदबारी कार्यक्रम र केहि व्यक्तिहरुमार्फत आर्थिक सहयोग प्राप्त भएको हो ।
खाँदबारी एफएम लिसनर ग्रुपबाट १० हजार, खाँदबारी एफएममा सञ्चालन हुने हेलो खाँदबारी रेडियो कार्यक्रममा रिचार्जबाट संकलित ५ हजार र केहि व्यक्तिहरुबाट ११ हजार ७ सय रकम विरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो । रेडियो कार्यक्रम हेलो खाँदबारी मार्फत खाँदबारी एफएमका अध्यक्ष सरोज बज्रचार्य र स्टेशन मेनेजर कृष्णराज शाक्यले विरामीका भाईहरु प्रदिप र ज्ञान बहादुर बर्देवालाई मंगलबार सहयोग रकम हस्तान्तरण गरेको हो ।
खाँदबारी एफएम लिसनर ग्रुप मार्फत समस्यामा परेकाहरुलाई विगतका दिनहरुबाट नै आर्थिक सहयोग गरिरहेको कार्यक्रम सञ्चालक सुरेन शाक्यले बताए । उनका अनुसार रेडियोका श्रोताहरुलाई आपत विपत परेको अवस्थामा देश भित्र र बाहिर रहेका सहयोगी मन भएका श्रोताहरुबाट नै रकम संकलन गरि सहयोग गरिदै आएको छ । एफएम मार्फत हालसम्म विभिन्न प्रकृतिका समस्यामा परेकाहरुलाई करिब ३ लाख रकम सहयोग गरि सकिएको कार्यक्रम प्रस्तोता शाक्यले बताए ।
काठमाण्डौंको टिचिङ अस्पतालमा उपचाररत बर्देवाको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सञ्चार माध्यमबाट सहयोगको याचना गरिरहेका छन् । ३ महिना देखि डाइलसिस गर्दै आएका बर्देवाले हाल सम्म १४ पटक मृगौला डायलसिस गरिसकेका छन् । उनका परिवारलाई उपचारका निमित्त आर्थिक समस्या भएको छ ।
उनको उपचारमा सहयोग गर्नको लागि राष्ट्रिय वाणिज्य बैंकको शाखा धरानको खाता नम्बर २१६००२८०६७१०मा सहयोग रकम जम्मा गरिदिन उनकी श्रीमति सन्तोशी राई बर्देवाले अपिल गरेकी छन् ।
प्रतिक्रिया