फेरि महँगिन थाल्यो खाने तेल



काठमाडौं । उद्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिए ।

‘तोरी, सनफ्वालर र भटमास सबैको मूल्य एकाएक बढेको छ, बढ्नुको कारण उद्योगीले भनेका छैनन्, अझै मूल्य बढ्ने बताएका छन,’ अधिकारीले भने ।

गत वर्ष मंसिरदेखि झण्डै दोब्बर मूल्यले बेढेको खानेको भाउ केही समय अघि घटेको भन्दै उद्योगीहरुले प्रचार गरेका थिए ।

झण्डै एक महिनाजति घटेको जस्तो देखिएको तेलको भाउ पुनः बढेको संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले बताए । केही समय घटेको प्रचार गरिएको तेलको भाउ पुनः पुरानै अवस्थामा पुर्‍याइएको बज्राचार्यको भनाइ छ ।

‘तेलको भाउ प्रतिलिटर २३५ सम्म आइपुगेको थियो, तर पुनः २६५ रुपैयाँकै अवस्थामा पुगेको छ तेलको भाउ अस्वभाविक र अनियन्त्रित देखिन्छ,’ उनले भने ।

घटाएको जस्तो बहाना बनाएर उद्योगीले पुनः उपभोक्तालाई तेलको मूल्यमा अन्याय गरेको बज्राचार्यको आरोप छ । साना खुद्रा व्यवसायीलाई अनुगमन गरेर डाम्ने तर उद्योगीहरुलाई राजनीतिक संरक्षण मिलेकोप्रति उनले असन्तुष्टि जनाए ।

साउन २३ अघिसम्म प्रतिलिटर २२५ रुपैयाँ लिटरमा खुद्रामा कारोबार भएको सूर्यमुखी तेलको भाउ मंगलबारसम्म आइपुग्दा २४० रुपैयाँ पुगेको संघले जनाएको छ ।

यस्तै धारा तोरी र भटमास तेलको मूल्य पनि बढेको छ । खाने तोरीको तेलको भाउ लिटरमा ३५ रुपैयाँसम्मले बढेको खुद्रा व्यवसायीहरूले बताएका छन् ।

सम्बन्धित समाचार