प्रदेश १ मा माधव पक्षका सांसद अलमलमा, पार्टी नछाड्न ओली पक्षको अफर



माधव नेपाल पक्षका सांसद भीम आचार्य र राजेन्द्र राई । आचार्य नेपालको नयाँ पार्टीमा जाने विषयमा अलमलमा छन् भने राई नयाँ पार्टीमा जाने बताउँछन् ।
४ भदौ, विराटनगर । नेकपा एमाले विभाजन भएपछि प्रदेश १ का प्रदेशसभा सदस्यहरु कुन पक्षमा लाग्ने भन्ने विषयमा पर्ख र हेरको अवस्थामा छन् । माधवकुमार नेपाल पक्षका सांसदहरु पनि नयाँ पार्टीमा जाने कि नजाने भन्ने दोधारमा छन् ।

कतिपय स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुले समेत माधव नेपालको साथ छाडेकाले प्रदेश सांसदहरु अलमलमा परेका हुन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ५१ सांसद छन् । २०७४ माघ २६ गते एमाले संसदीय दलको निर्वाचन हुँदा ओली पक्षका शेरधन राईले २६ मत ल्याएका थिए भने नेपाल पक्षका भीम आचार्यले २४ मत पाएका थिए भने एक मत बदर भएको थियो ।

तर पार्टी विभाजनको अवस्थामा पुग्दा सचिव भीम आचार्य, केन्द्रीय सदस्य जीवन घिमिरेलगायतले माधव नेपालको साथ छाडेका छन् । पहिले माधव नेपाल समूहमा रहेका उषाकला राई, कला घले, राजकुमार ओझाले त तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि ओली पक्षमा लागेका छन् ।

माधव समूहका नेताहरुको दाबी अनुसार प्रदेश १ मा हाल १४ सांसद उनीहरुको साथमा छन् । राजेन्द्र राई, राजन राई, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, गणेश काङमाङ, सुनीता चौधरी, सावित्रा रेग्मी, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ, लक्ष्मण तिवारी, बलबहादुर साम्सुहाङ, सरिता थापा र होमकुमारी साँवा र लिलाबल्लभ अधिकारी आफूहरुसँग रहेको नेपाल पक्षका नेताहरुको दावी छ । तर उनीहरु सबै माधव नेपालले दर्ता गरेको नयाँ पार्टीमा जाने सम्भावना कम छ ।

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सुनिता चौधरी, सावित्रा रेग्मी, बलबहादुर साम्सुहाङलगायत नेताहरु नयाँ पार्टीमा जाने सम्भावना छ । अरु सांसदहरु पर्ख र हेरको अवस्थामा छन् । माधवकुमार नेपाल समूहमा रहेकी सांसद खिनु लङ्वा लिम्बु कुन पार्टीमा रहने भन्ने छलफलपछि टुंगो लगाउने बताउँछन् ।

सरकारले भदौ २ गते ल्याएको अध्यादेशमा दल विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी रोज्न २१ दिन समय दिने उल्लेख छ । समय पर्याप्त रहेका कारण छलफल पछि निर्णयमा पुग्ने माधव नेपाल पक्षकी सांसद सरिता थापाले बताइन् ।

एमाले सांसद राजन राईले पार्टीमा केपी ओली प्रवृत्तिविरुद्ध लडेको भन्दै त्यही कारण माधव नेपालको पार्टीमा जाने बताए । एमाले सांसद उपेन्द्र घिमिरे माधवकुमार नेपालको पार्टीमा आफूसहित १५ जना प्रदेश सासद रहने बताउँछन् ।

माधव नेपाल पक्षका सांसद बलबहादुर साम्सुहाङ पनि दल रोज्नका लागि अझै केही समय बाँकी रहेको बताउँछन् । साम्सुहाङ आफू नेपाल पक्षमा रहेपनि छलफ पछि कुन पार्टीमा रहने निर्णय गर्ने बताउँछन् । एमाले सांसद सुनीता चौधरीले पनि नयाँ पार्टीमा जाने संकेत गर्दै आफ्नो लाइन पहिलेदेखि नै क्लियर रहेको बताइन् ।

सम्बन्धित समाचार