१३औं सागमा खेलकुद सामग्री खरिद र वितरणमा व्यापक अनियमितता : महालेखा



काठमाडौं । २०७६ मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

महालेखा परीक्षकको शनिवार सार्वजनिक भएको ५८औं वार्षिक प्रतिवेदनमा १३औं सागमा खेल सामान खरिददेखि खेल सामग्री वितरणसम्म अनियमितता भएको उल्लेख छ ।

साग खेलकुदमा ६ गुणासम्म लागत अनुमान गरेर खेल सामाग्री खरिद गरिएको भन्दै प्रश्न उठाएको हो । १३औं सागको तयारीदेखि व्यवस्थापनसम्म गरेर सरकारले १ अर्ब ९५ करोड उपलब्ध गराएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

६ गुणा बढी लागत देखियो, प्रयोग भएको सुनिश्चित भएन

राष्ट्रिय खेलकुद परिषद राखेपले बनाएको खरिद समितिले लागत अनुमान तयार गर्दा आवश्यक कागजात समावेश नगरी परिषदमा सूचीकृत भएका तीन राष्ट्रिय आपूर्तिकर्ताको दररेटका आधारमा ४० करोड ९६ लाख लागत अनुमान स्वीकृत गरेको र लागत अनुमानकै दरमा सामाग्री खरिद गरेको उल्लेख गरेको छ ।

तर लागत अनुमान स्वीकृत भएका केही खेलकुद सामग्रीको नमूना परिक्षण गर्दा कबड्डीको म्याटको सामान्य बजार दर १ हजार ७ सय रहेकोमा ३ हजार लागत अनुमान तयार गरेको, इलेक्ट्रोनिक स्कोर बोर्डको सामान्य बजार दर २५ हजार रहेकोमा १ लाख ५० हजार लागत अनुमान तयार गरेको, बक्सिङ ग्लोभ्सको सामान्य बजार दर ३ हजार ८५० रहेकोमा १५ हजार लागत अनुमान तयार रहेको उल्लेख छ । लागत अनुमान नै यथार्थ नरहेकाले सो लागत अनुमानको आधारमा खरिद भएको खर्च यथार्थपरक र मितव्ययी भएको सुनिश्चित गर्न नसकिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।

सम्बन्धित समाचार