कित्ता क्लियर गर्दै नेताहरू, ६ सांसद र ५ केन्द्रीय सदस्य समाजवादीमा लागे



धनगढी । नेकपा एमालेमा आएको विभाजनसँगै नेता तथा कार्यकर्ताले कित्ता क्लियर गर्न थालेका छन्। एमाले छाडेर माधवकुमार नेपालको नेकपा ९एकीकृत समाजवादी० पार्टी गठन गरेपछि नेताहरूले कित्ता क्लियर गर्न थालेका हुन्।

विभाजनपछि सुदूरपश्चिमका अधिकांश नेताहरू एमालेमा रहँदा केही एकीकृत समाजवादीमा खुलेका छन्। सुदूरपश्चिम प्रदेशका ५ केन्द्रीय सदस्य र ६ सांसदले एमाले छोडेका छन्। ती मध्ये दुई केन्द्रीय सदस्य संघीय सांसदसमेत छन्।

सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए। जसमा गरिमा शाह (कैलाली), रामकुमार ज्ञवाली (कञ्चनपुर), निरादेवी जैरू (डडेल्धुरा), विक्रम शाही (डडेल्धुरा) र प्रेम बहादुर आले ९डोटी० एकीकृत समाजवादीमा खुलेका छन्।

जैरू डडेलधुराकी समानुपातिक सांसद हुन् भने आले डोटीबाट प्रत्यक्षतर्फका सांसद हुन्। तीमध्ये डोटीका प्रेम आले ओलीनिकट थिए। अन्य चारजना नेपाल समूहकै हुन्। यस्तै नेपाल समूहका केन्द्रीय सदस्य भीम रावल, झपट रावल र प्रकाश शाह एमालेमै छन्।

लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरू पाल र भैरव सिंह पनि एमालेमै छन्। यीमध्ये अधिकांश केन्द्रीय सदस्य सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ओलीले चयन गरेका थिए।

सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ एमालेका ११ जना सांसद छन्। तीमध्ये ८ जना ओलीनिकट थिए भने ३ जना माधव समूहका थिए। ओली समूहका डोटीका सांसद प्रेम आले अहिले एकीकृत समाजवादीको केन्द्रीय सदस्य भएका छन्।

ओलीनिकट कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरव सिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी तथा भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमालेमै छन्।

एमालेतर्फबाट समानुपातिकमा प्रदेशका ५ जना सांसद छन्। तीमध्ये कञ्चनपुरकी बिना बुढाथोकी, डडेलधुराकी निरादेवी जैरू र कैलालीकी लक्ष्मी चौधरी नेकपा एकीकृत समाजवादीमा लागे।

कञ्चनपुरकी निरू पाल र बझाङकी आशा विक एमालेमा छन्। चारजना राष्ट्रिय सभा सदस्यमध्ये दुई नेकपा एकीकृत समाजवादीमा लागेका छन्। समाजवादीमा लाग्नेमा शेरबहादुर कुँवर र शारदा भट्ट छन्। कञ्चनपुरका इन्दु कडरिया विष्ट र डडेल्धुराका चक्र स्नेही एमालेमै छन्।

सम्बन्धित समाचार