कांग्रेसको वडा अधिवेशन आजदेखि, मतदान सकिएलगत्तै गणना गरिने


१८ भाद्र २०७८, शुक्रबार


केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार शुक्रबार देशैभर वडा अधिवेशन हुनुपर्ने हो। तर क्रियाशील सदस्यता सम्बन्धी विवाद नटुंगिएकोले २१ जिल्लाको क्रियाशील सदस्यता विवरण अझै पार्टीको वेबसाइटमा सार्वजनिक गरिएको छैन।

५६ जिल्लामा भने क्रियाशीलको नामावली पार्टी वेबसाइटबाट सार्वजनिक गरिसकिएको छ। क्रियाशील नाम सार्वजनिक भएका र निर्वाचन अधिकृत पुगिसकेका जिल्लामा पनि भदौ १९, २०, २१ गतेका लागि अधिवेशन तोकिएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरमा आज वडा अधिवेशन नहुने भएको छ। ललितपुरमा र भक्तपुरमा भदौ २१ मा वडा अधिवेशन हुनेछ भने काठमाडौंमा कहिले गर्ने टुंगिएको छैन। क्रियाशील सदस्यता विवाद नटुंगिएकोले काठमाडौं अधिवेशन अनिश्चित छ।

कांग्रेसले निर्वाचन अधिकृतसँग समन्वय गरी एक/दुई दिन वडा अधिवेशन सार्न सकिने अधिकार दिएको छ। भदौ २७ मा गाउँरनगर अधिवेशन भएकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसमा छ।

कांग्रेसले आज करिब ४० जिल्लामा वडा अधिवेशन गर्दैछ। सहमति नभएका वडामा मतदान गर्ने र मतदान सकिएलगत्तै गणना गर्नुपर्ने कांग्रेसको निर्देशिकामा उल्लेख छ। सबैभन्दा बढी मत पाउने उम्मेदवार निर्वाचित हुनेछन्।

आज वडा अधिवेशनबाट वडा सभापतिसहित पदाधिकारी र सदस्यहरू तथा क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। वडा अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्। यसैपालि क्रियाशील सदस्य बनेकाहरू पनि वडाका सबै पदमा उम्मेदवार हुन पाउँछन्।

१३ औं महाधिवेशनमा भन्दा यसपटक वडामा क्रियाशीलको संख्या दोब्बरभन्दा धेरै भएको छ। देशका छ हजार सात सय ४३ वडामा गरी कांग्रेसमा कूल ९ लाख क्रियाशील सदस्य छन्।

सम्बन्धित समाचार