“संघर्षका छालहरु”जीवन्यासको कृतिगत मूल्य:



ताम्कुका एक युवा श्रष्टा विनोद मेवाहाङ’गुराँस सेगमेन्ट’को ‘संघर्षका छालहरु ‘हिजोबाट बजारमा आएको छ।नेपाली समाजका जम्मै आयामहरुमा भएको विकृति,बिसङ्गति,विभेद ,निषेध र भ्रष्टाचारको रापबाट पिल्सिएको ,थिलथिलो भएको पृष्ठभूमिलाई आधार बनाएर अग्रगमनको सपना बाँड्दै २०५२ फागुन १ बाट नेकपा माओवादीले सशस्त्र जनयुद्धको प्रारम्भ गर्यो।सामाजिक न्याय र समानताको खडेरीले गाउँगाउँ आत्था आत्था भएको युवा पुस्ता सपनाहरुलाई विपनामा रुपान्तर गर्न देश र जनताको मुहार फेर्ने जीवन्त सपना बोकेर युद्धको निम्ति गाउँगाउँ बाट उठे,बस्तीबस्तीबाट हतियार बोक्न तयार भए।
यसै क्रान्तिको ज्वालामुखीले सङ्खुवासभाको सिलिचोङलाई हल्लायो र गुराँस सेजमेन्ट बलिदानी संघर्षको लागि हत्केलामा ज्यान राखेर टाउकोमा कात्रो बान्न तयार भयो।इमान्दारीपूर्वक युद्धका अनेकौँ मोर्चाहरु सम्हाल्दै प्लाटुन कमान्डर सम्म बन्यो।कैयौ पटक मृत्युको गाडी उसलाई ठोक्काएर अगाडि बढ्छ।कहिले कानका छेउबाट,कहिले टाँगमुनिबाट र कहिलेभने पाखुरामा गोलीका घाउ र रगत चुवाउँदै शहीद भईसकेको घोषणा गर्न लाग्दा सम्पर्कमा पुग्यो।लगभग जीउँदो शहीद बनेको गुराँस सेना समायोजनमा परेन,बस्न मानेन।गाउँबस्तीमा फर्केर सहयोद्धाहरु मरेको खबर आँसु बगाउँदै प्रेमिकालाई सुनउँछ।क्रान्तकारी राज्यसत्ता र गणतन्त्रले पनि घाइते,बेपत्ता ,मृतक र पूर्व लडाकूको हितमा ठोस योजना ल्याउन सकेन ।न त रोजगारी,उत्पादन र समृद्धिसँग नै आम युवा शक्तिलाई जोड्न नै सक्यो।ब्यवस्था परिवर्तन भए पनि अवस्था फिटिक्कै वद्लिएन।
फलस्वरुप गुराँ मलेसियामा कामदार बन्न पुग्छ।त्यहाँ पनि मेनेजरले गरेको दमन र कुटपिट बिरुद्ध आन्दोलन गर्छ र हिरासतमा पर्छ।राम्रो मालिक पनि भेट्छ तर उ इलिगल भइसकेको हुन्छ।फेरि गाउँ फर्कन्छ।समाजसेवामा लागेर स्थानीय निर्वाचनपछि गाउँपालिकाको कार्यपालिका सदस्य बन्छ।ऊ अहिले पनि जनयुद्धप्रति इमान्दार छ।ऊ यो इमान हराउँदै गएर नेतृत्वमा देखापरेको साँस्कृतिक बिचलनबाट हैरान छ।नेतृत्वलाई देश र जनताप्रति इमान्दार भएर राजनीति गर्न सन्देश दिन र दुनियाँ महान् जनयुद्धको कथा पस्किन “संघर्षका छालहरु”नामक कृति आफ्नै खर्चले प्रकासन गर्छ।
कृतिभित्रको कथा यही हो।तर यति जीवन्त छ कि कथावस्तुको आधारमा यो कृतिलाईस प्रगतिवादी यथार्थवादी समाजवादी धाराको कृतिको रुपमा निरुपित गरिन्छ र कृतकार प्रगतिवादी लेखक हुन्।
देशप्रेम,जाति(नेपाली)प्रेम र क्रान्तप्रेमको त्रिवेणी बनेर बगेको यो कृतिलाई जीवन्यास भनी बिधागत वर्गीकरणभित्र राख्न सकिन्छ।यो नवीन विधा हो।
आवरणचित्र अमूर्त छ,आफ्नो परिचयको तस्विरमा चन्द्रसूर्य झन्डा राखेर देश प्रेम झल्काएका छन्।लाईटवेट पेपरमा छापिएको यस पुस्तकमा इमान्दार नेता “प्रभाकर”को मात्र शुभकामना राखेर उनले भूमिका लेखन परम्पराको क्रमभङ्गता रोजेका छन्। १२४ पृष्ठको यो कृति कुनै उपशीर्षक विना नै निरन्तर पाठकलाई कौतुहलले तानेर ४ घन्टाको एक बसाइमा पढ्न सकिन्छ। अक्षर र मूल्यका दृष्टिले उपयुक्त छ।
मपात्रको नायकत्वमा सक्षम,प्रकृति,गुराँसजस्ता सहायक पात्रहरुको उपस्थितिमा अनेकन युद्धका पक्षधर र बिपक्षी पात्रहरु छालभित्र तरङ्गित हुन्छन्।प्रेम,आक्रोस,घृणा,सहानुभूति र पश्चातापका भावहरु पाठकको मनमा पटकपटक आँधीजसरी ल्याइदिन कृति सफल छ। प्रदेश नं.१ का सबै पहाडी जिल्ला ,काठमान्डौ र मलेसिया कृतिका भौगोलिक परिवेश हुन्।प्रथम पुरुष दृष्टिविन्दूमा संरचित प्रस्तुत कृतिको भाषा अरुणको पानी जस्तै सत्यम्,शिवम्,सुन्दरम् बोकेर सलल बगेको छ।युद्ध रणनीति र हातहतियारको जम्मै नाम र क्रियापदहरु आगन्तुक शब्दका रुपा आएपनि प्रसङ्गले स्वत:स्पष्ट छन्।पात्रानुकुला भेषभूषा र सम्बादले कथालाई जीवन्तता प्रदान गरेको छ।निरङ्कुस राज्यसत्ता र परिवर्तनकारी शक्ति विचको युद्धकै चित्रण भएकोले कृतिभित्रको द्वन्द्व महाभारत महाकाब्यको भन्दा कमजोर छैन।जीवनक घुम्ती र मोडहरुमा भोगेका तीता र सन्सनीपूर्ण यथार्थ भएकोले “संघर्षका छालहरु”शीर्ष सार्थक बनेको छ।
कृतिमा मुद्राराक्षसको आक्रमण भएकै छ।केही महत्वपूर्ण तथ्य र तिथिमिति साभार भएको कारण सन्दर्भ ग्रन्थ सूचि समावेश गर्न सकेको भए आधिकारिकताको पुष्टि पनि हुने थियो।उपशीर्षकहरु राखेर परिवर्तित परिवेश र सन्दर्भहरु ब्यवस्थित गर्न सकेको भए पाठकले पठनयात्रा थालेपछि बिश्रामको चौतारी फेला पार्न सक्थे।
जुनसुकै मूल्यमा गुराँस सेगमेन्टको यो पहिलो प्रयास नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा एउटा पाकेको इँट नै हो।
कृति विमोचन र समीक्षाका लागि प्रमुख अतिथिका रुपमा मेवाहाङ र कुलुङ् सँस्कृतिको पवित्रभूमि शिलिचोङ्को हृत्केन्द्र ताम्कुमा स्पर्ष गर्न यो अकिन्चन लेखकलाई अवसर दिएर हार्दिक सम्मान गर्नुभएकोमा लेखक र सिँगो शिलिचोङको भूमि एवम् भूमिपुत्रहरु प्रति आभार कृतज्ञता ज्ञापन गर्दछु।समृद्ध सिलिचोङ र सुखी सिलिचोङबासीको लागि कामना गर्दै जीवन्यासकार गुराँस सेगमेन्टको कलमको डोबहरुलाई अझ परिष्कृत कृति निरन्तरताको कामना गर्दछु।
-ताराबहादुर बुढाथोकी ‘पाख्रिबासे कान्छो’
चिचिला-१,
हाल:खाँदबारी
पौष २५/२०७८

सम्बन्धित समाचार

Contact Us