कैलालीका १५ जनप्रतिनिधिलाई पदमुक्त गर्न कांग्रेसको सिफारिस



धनगढी । नेपाली कांग्रेस कैलालीले जिल्लाका तीन वडाअध्यक्षसहित १५ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ।

१५ जना जनप्रतिनिधिले पार्टी परित्याग गरी अन्य राजनीतिक दलमा सक्रिय भएको भन्दै कांग्रेसले उनीहरुलाई पार्टीबाट पदमुक्त गरी जनप्रतिनिधि रहेको पद पनि खारेजीको माग गरेको हो। कांग्रेस कैलालीले उनीहरुको पद खारेजीको मागसहित निर्वाचन आयोगलाई सिफारिस गरेको जनाएको छ।

उनीहरुलाई कांग्रेसको साधारण सदस्य समेत नरहने गरी हटाइसकिएको छ।

कारबाही गरी पदमुक्त गर्न सिफारिस गरिएका जनप्रतिनिधिहरूमा टीकापुर नगरपालिका १ का वडाध्यक्ष लालवीर चौधरी, ३ का वडाध्यक्ष रामसेवक महतो र ५ का वडाध्यक्ष रामशंकर डगौरा थारु रहेका छन्।

त्यस्तै, सोही नगरपालिकाका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३ का वडा सदस्य बिना थारु, भागिदेवी कामी, वडा नम्बर ४ का सदस्य तुलसादेवी बिक, प्रेमलाल चौधरी, रुपमति डगौरा थारु, वडा नम्बर ५ का सदस्य बलबरि थारु (चौधरी), कन्हैया चौधरी, आशा थारु, सरिता भुल र वडा नम्बर ६ का वडा सदस्य रामशंकर चौधरी र जमुना चौधरी रहेका छन्।

नेपाली कांग्रेस कैलाली, टीकापुर नगर कार्यसमितिको माघ १४ गतेको निर्णय, क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले माघ १८ गतेको सिफारिस पत्रअनुसार जिल्लाका कार्यवाहक सभापति प्रकाश बमले निर्वाचन आयोगमा सिफारिस पठाएका हुन्।

सम्बन्धित समाचार