यसपालिको हिउँदमा सरदर भन्दा बढी वर्षा, पानीका स्रोत पुनर्भरणसँगै कृषिलाई फाइदा



काठमाण्डौ । यसपालिको हिउँदयाममा सरदर भन्दा बढी वर्षा भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिउँदमा ६० दशमलव ९ मिलिमिटरसम्म वर्षा हुनुलाई औसत मानिन्छ । यसपालिको हिउँदमा अहिलेसम्म ६५ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको छ ।

हिउँदयाम सकिन अझै १३ दिन बाँकी रहेकाले यसबीचमा पनि वर्षा हुनसक्ने अनुमान मौसमविद्को छ। नेपालमा डिसेम्बरदेखि फेब्रुअरी अर्थात मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । पोहोरको हिउँदयाममा १५ दशमलव ४ मिलिमिटर मात्रै वर्षा भएको थियो । पोहोर सुक्खा र खडेरी थियो ।

मौसमविद्काअनुसार नेपालमा विगत कयौँ वर्ष हिउँदमा राम्ररी पानी पर्न सकेको थिएन । २०६२ सालको हिउँदमा निकै कम जम्मा ७ दशमलव १ मिलिमिटर पानी परेको सरकारी तथ्याङ्क छ । तथ्याङ्क अनुसार सन् २००७ यता पाँचवटा वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ ।

विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर हरेक वर्ष जाडोयाममा हुने वर्षालाई तुलना गरिन्छ । यसपालि औसतभन्दा बढी नै वर्षा भएकाले पानीका स्रोत पुनर्भरणसँगै कृषिलाई पनि फाइदा पुग्ने देखिन्छ ।

मौसमविद् राजु प्रधानाङ्गकाअनुसार आज पनि पश्चमी पहाडी जिल्लामा हल्का वर्षा र हिमपातको सम्भावना छ । दिउँसो पछि यी क्षेत्रमा हल्का वर्षा र हिमपात हुनेछ ।

सम्बन्धित समाचार