कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित



काठमाण्डौ । आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । दिउँसो १ बजे प्रतिनिधिसभा बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श समितिको बैठक बोलाउनुभएको हो ।

संसद बैठक अवरोधलाई कायमै राख्ने निर्णय गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिष्कार गरेको छ । आफूले कारबाही गरेका १४ सांसदबारे सभामुख सापकोटाले सूचना ननिकालेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरे पनि सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी यसको विपक्षमा छन् । कार्यव्यवस्था समितिको बैठकमा कांग्रेसले सम्झौता टेबल गर्न प्रस्ताव गर्ने तयारी गरेको छ । तर सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले भने यसमा असहमति जनाउने बताएका छन् । संसद्को कार्यसूचीबारे सभामुखलाई परामर्श दिने कार्यव्यवस्था समितिको बैठकमा सत्तारुढ दलहरुले नै फरक फरक अडान लिने भएपछि आजको संसद बैठकमा एमसीसी सम्झौता टेबल नहुने सम्भावना छ ।

सत्तारुढ दलभित्र सहमति भएको अवस्थामा मात्रै संसदमा टेबल गर्ने सभामुख सापकोटाले अडान लिंदै आउनुभएको छ । प्रमुख प्रतिपक्षी एमालेले एमसीसीबारे विषय प्रवेश नै नगरी संसदमा पहिलेजस्तै नाराबाजी गर्ने जनाएको छ ।

अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र आउँदो १६ गतेसम्म पारित गर्न ‘अल्टिमेटम’ दिएपछि प्रधानमन्त्री देउवा दबाबमा पर्नु भएको छ । नेपाली कांग्रेसले एमसीसी सम्झौता संसद्बाट पारित गराउने निर्णय गरिसकेको छ ।

सम्बन्धित समाचार