प्रचार प्रसारमा ‘म यस्तो गीत गाउँछु २’ र ‘लप्पन छप्पन २’



काठमाडौं : कोरोनाको तेस्रो लहर मत्थर भएसँगै फिल्म हल फेरि खुलेका छन्। प्रदर्शन हुँदाहुँदै रोकिएका फिल्मले पुनः प्रदर्शन थालेका छन् भने प्रदर्शनका लागि तयार भएर बसेका फिल्मले नयाँ प्रदर्शन मिति तोक्न थालेका छन्।

कोरोनाका कारण प्रदर्शन स्थगित भएका प्रतीक्षित दुई नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ र ‘लप्पन छप्पन २’ यसै महिना प्रदर्शन हुँदै छन्। प्रदर्शन मिति नजिकिएसँगै निर्माण टोली प्रचार प्रसारमा उत्रिएका छन्।

फागुन १३ देखि प्रदर्शनमा आउन लागेको ‘म यस्तो गीत गाउँछु २’ ले आफ्नो प्रमोशनल गीत सार्वजनिक गरेको छ। सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माणमा बन्न लागेको फिल्मले थारू भाषामा आफ्नो प्रमोशनल गीत सार्वजनिक गरेको हो।

नरेश जोगी र मधु चौधरीको स्वरमा रहेको ‘म यस्तो गीत गाउँछु २’ बोलको गीत बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। नरेश जोगीकै शब्द तथा संगीत रहेको गीतमा पल शाह र पूजा शर्मासँगै नवनीत चौधरी, नेहा चौधरी, मुकुन्द जिसी, अरिन चौधरी, देव महतो, सिर्जना चौधरी लगायतका कलाकारको नृत्य तथा अभिनय रहेको छ।

पल र पूजाको मुख्य भूमिका रहेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्। दुई वर्षअघि नै प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म कोरोनाका कारण रोकिएको थियो।

त्यस्तै फागुन २० देखि प्रदर्शनमा आउन लागेको एक्सन थ्रिलर ‘लप्पन छप्पन २’ को पनि नयाँ ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक ट्रेलरले फिल्म पैसा र शक्तिका लागि हुने द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ।

मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, शिव श्रेष्ठ, अनुपविक्रम शाही, अर्पण थापा, विशाल पहाडी, सरिता गिरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

कोरोनाकै कारण तोकिएको मितिमा प्रदर्शन हुन नपाएको फिल्म फागुन १३ देखि प्रदर्शन गर्ने तयारीमा रहेको थियो। फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुने भएपछि ‘लप्पन छप्पन २’ एक हप्ता पछि सरेको हो।

सम्बन्धित समाचार