रुस र युक्रेनबीच बढ्दो तनावका बीच लुहान्स्कमा विस्फोट



रुस र युक्रेनबीच बढ्दो तनावकाबीच लुहान्स्कमा शक्तिशाली विस्फोट भएको छ ।

पूर्वी युक्रेनको लुहान्स्कमा ग्याँस पाइप लाइनको एक भागमा विस्फोटपछि आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुस समर्थित समूहको पकड रहेका लुहान्स्कसहित केहीक्षेत्रमा विस्फोटका घटना हुन थालेपछि युक्रेनले ती क्षेत्रका बालबालिका र महिलालाई अन्तै पठाउन सुरु गरेको छ ।

यो घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्ने अन्तिम योजनामा रहेको बताउनुभएको छ । अमेरिकी गुप्तचर निकायले गरेको विश्लेषण अनुसार रुसले युक्रेनको राजधानी कियभलाई निसाना बनाउने देखिएको बाइडेनको दाबी छ ।

रुसले अझै पनि समस्या समाधानका लागि कुटनीतिक बाटो खोज्न र रोज्न सक्ने र त्यो नै उत्तम विकल्प हुने बाइडेनले बताएका बीबीसीले उल्लेख गरेको छ । उहाँले सीमामा तैनाथ सैनिक फिर्ता गरी वार्तामा आउन रुससँग आग्रह पनि गर्नुभएको छ । तर रुसले युक्रेनमाथि आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ ।

सम्बन्धित समाचार