युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिने रुसको निर्णयपछि पश्चिमा देशद्वारा प्रतिबन्ध लगाउन सुरु



काठमाण्डौ । रुसले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि पश्चिमा देशहरूले उमाथि प्रतिबन्ध लगाउन थालेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दक्षिण–पूर्वी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई छुटै राज्यको मान्यता दिएर त्यहाँका विद्रोहीलाई औपचारिक मान्यता प्रदान गरेपछि अमेरिका र युरोपेली देशहरू आक्रोशित भएर प्रतिबन्ध लगाउन थालेका हुन् ।

बेलायतले पाँच वटा रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले अन्तिम समयसम्म पनि कुटनीतिक समाधान खोज्ने तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगाडि बढ्दै गए भने अरू सम्भावनाहरूमाथि विचार गर्नुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

जर्मनीले नोर्ड स्ट्रीम टू पाइपलाइनलाई प्रमाणीकरण गर्ने प्रक्रिया स्थगित गरेको छ । जर्मनका चान्सलर ओलाफ शोल्ट्सले नोर्ड स्ट्रीम टू विना पनि जर्मनीमा ग्यासको आपूर्ति सुनिश्चित भएको बताउनुभएको छ । यस्तै अमेरिकाले प्रतिबन्धबारे छलफल गरिरहेको बताएको छ ।

रुसी राष्ट्रपतिले युक्रेनका दुई क्षेत्रलाई छुटै राज्यको मान्यता दिएसँगै विद्रोहीसँग भएको सन्धिअनुसार शान्ति स्थापनाका लागि भन्दै रुसी सैनिक युक्रेनी क्षेत्रमा तैनाथ गर्न आदेश दिनुभएको छ । पुटिनको आदेशअनुसार डोनेट्स्क र लुहान्स्कमा रुसी सैनिक प्रवेश गरेका रोयटर्सले जनाएको छ ।

विश्व समुदायले नै रुसको आलोचना गरिरहँदा चीनले भने यस घटनालाई जटिल पक्ष भन्दै सन्तुलित प्रतिक्रिया दिएको छ । चीनले यस घटनामा कुनै पनि पक्ष नलिइकन बरु तनाब बढाउन सक्ने कार्यबाट बच्न आग्रह गरेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्र सङ्घले रुसको निर्णयले युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन गरेको बताएको छ । रुसी राष्ट्रपति पुटिनको घोषणापछिको अवस्थाको बारेमा छलफल गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को बैठक बसिरहेको छ ।

सम्बन्धित समाचार