फेसबुकमा रुसविरुद्ध बोल्ने अनुमति



सोसल नेटवर्किङ साइट फेसबुकले ‘रुसी आक्रमणकारीहरू’ को विरुद्ध हिंसात्मक भाषणलाई अनुमति दिने नियम ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुकको नियमअनुसार कुनै पनि प्रकारको गाली, हिंसात्मक भाषण या आपत्तिजनक भाषणलाई अनुमति हुँदैन । फेसबुकमा यी सबै कुरा प्रतिबन्धित छ तर युक्रेनलाई समर्थन गर्न फेसबुकले यसबारेमा केही खुकुलो गरेको हो । अब प्रयोगकर्ताहरूले युक्रेनमाथिको आक्रमणलाई लिएर रुसको विरुद्ध बोल्न सक्ने र उसको विरोध जनाउन सक्नेछन् ।

यसअघि फेसबुकले रुसमा विभिन्न विषयमा कडाइ गरेको थियो । त्यसपछि रुसले फेसबुकमाथि कडा कारबाही गर्दै आफ्नो देशमा फेसबुकमाथि पूर्णरूपमा प्रतिबन्ध लगाएको थियो । रुसको सेन्सरशिप एजेन्सी रोसकोम्नाडजोरले फेसबुकमाथि रुसी मिडियालाई भेदभाव गरेको आरोप लगाएको थियो ।

युक्रेनमाथि आक्रमण सुरु गरेयता रुसमाथि विश्वका विभिन्न देश र कम्पनीहरूले दबाब दिइरहेका छन् । अमेरिका र उसका सहयोगी देशहरूले रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाइसकेका छन् । यस्तै ठूला कम्पनीहरूले रुसमा आफ्नो कारोबार बन्द गरेका छन् । यी कम्पनीहरूले युक्रेनलाई समर्थन गर्न पहल गरिरहेका छन् ।

सम्बन्धित समाचार