फ्राइडे रिलिज : हलमा चिसो एष्ट्रे, बच्चन पाण्डे र द कश्मिर फाइल्स



काठमाडौं । यति बेला हलमा एउटा नेपाली र दुई वटा हिन्दी फिल्म प्रदर्शनमा छन्। प्रतिक्षित नेपाली फिल्म ‘चिसो एष्ट्रे’ र बलिउड फिल्म ‘बच्चन पाण्डे’ले शुक्रबारदेखि नै प्रदर्शन थालेका हुन्। भारतमा गत साता नै प्रदर्शनमा आएको ‘द कश्मिर फाइल्स’ नेपालमा शुक्रबारदेखि मात्रै प्रदर्शनमा आएको हो।

दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्म चिसो एष्ट्रेले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहको छ। स्पेशल स्क्रिनिङमा फिल्म हेरेका फिल्मकर्मीहरूले चिसो एष्ट्रेले नेपाली फिल्मलाई अर्को स्तरमा लगेको प्रतिक्रिया दिए। तर, बच्चन पाण्डे र द कश्मिर फाइल्सका कारण चिसो एष्ट्रेले मल्टिप्लेक्स राम्रो शो भने पाउन सकेको छैन।

फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, रोविन तामाङ, सुशिलराज पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साललगायतका कलाकारको मुख्य भूमिका रहको छ। फिल्ममा गाउँबाट सहर पसेको केटाको दृष्टिविन्दुबाट काठमाडौंको कथा देखाउन खोजिएको छ। भूपि शेरचनको कविता चिसो एष्ट्रेबाट प्रभावित भएर फिल्म बनाइएको निर्माण पक्षले बताएको छ।

त्यस्तै‚ ठूलो बजेटमा बनेको बलिउड फिल्म बच्चन पाण्डे हलमा सबैभन्दा धेरै शोका साथ प्रदर्शन भइरहेको छ। फराद सामजिको निर्देशनमा बनेको एक्सन कमेडी फिल्ममा अक्षय कुमारको मुख्य भूमिका छ। बच्चन पाण्डे सन् २००६ मा बनेको दक्षिण कोरियन फिल्म ‘अ डर्टि क्यार्निवल’बाट प्रभावित छ। फिल्ममा अक्षयसँगै कृति सेनन र अर्सद वारसीको पनि मुख्य भूमिका रहेको छ। बच्चन पाण्डेले मल्टिप्लेक्समा ३० देखि ६० प्रतिशतसम्म शो पाएको छ।

गत सातादेखि प्रदर्शनमा आएको द कश्मिर फाइल्ले भारतमा मात्र नभएर विश्वभरबाट चर्चा कमाएपछि शुक्रबारदेखि नेपालमा पनि प्रदर्शनमा ल्याइएको छ। १५ करोड (भारू) बजेटमा बनेको फिल्मले कम पर्दामा प्रदर्शन हुँदा पनि पहिलो सातामै झण्डै १०० करोडको व्यापार गरिसकेको छ।

फिल्ममा सन् १९९० मा कश्मिरबाट लखेटिएका कश्मिरी पण्डितहरूको कथा छ। कथावस्तुकै कारण भारतमा यसको प्रचारप्रसारमा कसैले साथ दिएको थिएन। चर्चित टेलिभिजन कार्यक्रमहरूले पनि द कश्मिर फाइल्सलाई प्रमोसन गर्न मानेका थिएनन्। फिल्म प्रदर्शन भइसके पनि भने यसको चर्चा विश्वभर हुन थालेको छ। भारतका केही राज्यले फिल्मलाई ट्याक्स फ्रि गरिदिएका छन् भने पहिले नबोलेका फिल्मकर्मी पनि फिल्मको बारेमा बोल्न बाध्य भएका छन्।

त्यस्तै‚ जापानी एनिमे ‘स्वर्ड आर्ट अनलाइन द मुभी’ पनि यति बेला हलमा छ। यीबाहेक बलिउड फिल्म ‘गंगुबाइ काठियावाडी’ चौँथो सातामा प्रवेश गरेको छ। हलिउड फिल्म ुद ब्याटम्यानु तेस्रो सातामा प्रवेश गरेको छ। गत साता सर्वाधिक शोका साथ प्रदर्शनमा आएको ‘राधे श्याम’ कम शोका साथ दोस्रो सातामा प्रवेश गरेको छ।

सम्बन्धित समाचार