डायसपोरिक कथाकार गुरुङ गृह जिल्ला संखुवासभामा सम्मानित



संखुवासभा । लामो समय देखि हङकङमा बसेर साहित्य सिर्जना गर्ने सर्जक स्रष्टा डायसपोरिक कथाकार दाजु गुरुङ गृह जिल्ला संखुवासभामा सम्मानित भएका छन् ।

मंगलबार गृह जिल्ला संखुवासभामा मकालु साहित्य समाज र संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानले संयुक्त रुपमा सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । मकालु साहित्य समाजका अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकी र संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठान संखुवासभाका अध्यक्ष टिकाराम गुरुङले संयुक्त सम्मान गरेका हुन् ।

सम्मानित भएपछि सर्जकरस्रष्टा गुरुङले गृह जिल्ला आएको बखत यसरी कार्यक्रमको आयोजना गरि सम्मानित हुन पाएको खुशी लागेको धारणा ब्यक्त गरे । उनले भने–‘एउटा साहित्यकार लेखकलाई आफ्नो कृतिको बयान हुनु, चर्चा परिचर्चा हुनु सबैभन्दा ठुलो सम्मान हो । आज हर्षविभोर भएको छु । आयोजना गर्नुहुने सबैप्रति आभार प्रकट गर्छु ।’—गुरुङले भने–‘मेरो नयाँ पुस्तक ‘लाई–सी’ मा ब्याकरण भत्कियो भन्छन् कतिपय, हो मैले जानी–जानी भत्काएको हुँ । साहित्यमा नयाँ प्रयोग गर्ने रहर छ तर नयाँ प्रयोग गर्ने बाहानामा अर्थहिन हुन चाँही हुदैन, अर्थ बोक्नुपर्छ ।’

उनी कथाका साथै गीत, कविता र उपन्यास लेखनमा समेत रुची राख्छन् । संखुवासभाको मादी नगरपालिकामा जन्मिएका डायसपोरिक कथाकार गुरुङ लामो समयदेखि प्रवास हङकङमा बस्दै आएका छन् ।

साहित्यिक नाम दाजु गुरुङ लेख्ने स्रष्टाको वास्तविक नाम भने उपेन्द्रबहादुर कोरङ्गी गुरुङ हो । खाँदबारी स्थित बरुण बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख समेत रहेका कथाकार गुरुङको यो भन्दा अगाडि पुस्तक ‘टाँकीका फुल’ चर्चित कथा संग्रह हो । भर्खरै उनले नयाँ कथा संग्रह ‘लाई–सी’ बजारमा ल्याएका छन् ।

सम्बन्धित समाचार