मिस नेपालका लागि आवेदन खुला



काठमाडौँ — मिस नेपाल २०२२ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले सोमबार होटल याक एन्ड यतिमा गरेको पत्रकार सम्मेलनमा आगामी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो ।

मिस नेपाल प्रतियोगितामा सहभागीले सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन् । प्रतियोगितामा ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका देशभरका युवतीहरू सहभागी हुन पाउनेछन् । यस वर्ष ‘मिस नेपाल वर्ल्ड,’ ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी तीन मात्र मुख्य टाइटल रहनेछन् ।

‘मिस सुप्रानेसनल’ फ्रेन्चाइजलाई भने यस वर्ष निरन्तरता नदिइने भएको छ । यस वर्ष मिस नेपालको पेजेन्टलाई फराकिलो र देशभरबाट प्रतिनिधित्व बढाउन सातै प्रदेशमा अडिसन मिति तय गरेको अध्यक्ष दिवाकर राजकर्णिकारले बताए । अडिसन काठमाडौंलगायत वीरगन्ज, धरान, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ । आयोजकका अनुसार काठमाडौंमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुनेछ । अन्य सहरमा हुने अडिसनका लागि निश्चित मिति र स्थान छिट्टै तय गरिने राजकर्णिकारले बताए । हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार ४ मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।

कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२० का विजेता नम्रता श्रेष्ठले ताज पहिरिएपछि मिस वर्ल्डसम्मको आफ्नो यात्राका अनुभवहरू निकै उत्साहपूर्ण र नौलो रहेको सुनाइन् । ‘मैले २३ वर्षको यात्रामा भन्दा डेढ वर्ष अवधिमा धेरै कुरा सिक्ने मौका पाएँ,’ उनले भनिन्, ‘ब्युटी अफ प्रपोजका लागि पुल बनाउने कामले मलाई अझ जिम्मेवार बनायो ।’ मिस नेपाल प्रतियोगिताले जीवन परिवर्तनका लागि धेरै कुराहरू सिकाएको उनले बताइन् ।

सबैको साथ, सहयोग, समर्थन र सौहार्दपूर्ण सम्बन्धका कारण नै मिस वर्ल्ड जस्ता संस्थासँग व्यावसायिक सम्बन्ध कायम भएको २५ औं वर्ष प्रवेश गरेकोमा हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेक्रीले खुसी व्यत्त गरे । कोरोनाकै कारण हिडन ट्रेजरले मिस नेपाल २०२१ को संस्करण भने गर्न सकेको थिएन ।

 

सम्बन्धित समाचार