ओलीको बेइमानीको हिसाब ३० गते हुने : प्रचण्ड



सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको बेइमानीको हिसाबकिताब जनताले वैशाख ३० गते गर्ने बताएका छन्।

स्थानीय निर्वाचनमा गठबन्धन र आफ्ना उम्मेदवारका लागि मत माग्न सर्लाहीको लालबन्दी आइपुगेका प्रचण्डले केपी ओलीको भ्रम र झूटको खेतीको एकएक हिसाब गर्न अब केही दिन मात्र बाँकी रहेको बताए।

नेकपा माओवादी केन्द्र लालबन्दी नगर समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले संघीयता, लोकतन्त्र विरोधी तथा प्रतिगामी शक्तिलाई परास्त गर्न गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरे।

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनले संघीयताविरोधी तत्त्वलाई पाखा लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने बताए। नेकपा एमालेलगायत केही पार्टीलाई संघीय लोकतान्त्रिक गणतन्त्र मन नपरेको भन्दै उनले यसका विरुद्ध विभिन्न षड्यन्त्र गरेर संविधान र व्यवस्थालाई उल्टाउन खोजिरहेको आरोप समेत लगाए।

उनले लोकतन्त्रबाट जनताका उपलब्ध अधिकार रक्षाका निम्ति लालबन्दी नगरपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका मेयर पदका उम्मेदवार प्रह्लाद बुढाथोकी र एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्द अधिकारी लगायत सम्पूर्ण उम्मेदवारलाई मत दिन आग्रह गरे।

आजै अध्यक्ष प्रचण्डले चक्रघट्टा र धनकौल गाउँपालिकामा पनि चुनावी सभालाई सम्बोधन गरेका थिए।

सम्बन्धित समाचार