अझै १५ लाख पाठ्यपुस्तक छाप्न बाँकी



काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ कि सुप्रिया चौंलागाई ६ कक्षामा पढ्छिन् । दुई घन्टा हिँडेर विद्यालय पुग्ने सुप्रियाले पढ्न गाह्रो लाग्ने विषय विज्ञान, गणित, अंग्रेजीका पुस्तक अझै पाएकी छैनन् ।

‘विद्यालयमा त सरहरुले पढाउनुहुन्छ । हाम्रो किताब छैन । होमवर्क पनि गर्न पाइदैन’, उनले भनिन् । जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । तर, सुप्रियालेजस्तै धेरै विद्यार्थीले पुस्तक पाएका छैनन् ।

रोल्पाको माडी गाउँपालिकामा कक्षा १० को भूगोल, कक्षा ९ को शिक्षा, कक्षा ८ र ६ को विज्ञान, गणित, अंग्रेजी विषयका केही पुस्तकमात्र पुगेको छ । कक्षा ५ को कुनै पनि पुस्तक भने विद्यार्थीले नपाएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कमलप्रसाद खत्रीले बताए ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ को नवलपुर माविकी शिक्षक कल्याणी थापाले कक्षा १, २, ३ र ५ को बाहेक सबै कक्षाको पुस्तक अपूर्ण रहेको बताइन् ।

चालु शैक्षिक सत्रदेखि कक्षा ४, ७, र ९ को नयाँ पाठ्यपुस्तक लागू भएको छ । अरु कक्षाका पुराना भए पनि पढाउन समस्या नभएको तर नयाँ पाठ्यक्रम अनुसार लागू भएको पुस्तक नपुग्दा भने समस्या भएको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘अरु कक्षाको त पुराना भए पनि छन् तर ४, ७, र ९ कक्षाको पुस्तक नयाँ भएकोले विद्यार्थीले पढ्न पाएका छैनन् । हामीले गृहकार्य दिन पनि सकेका छैनौं ।’

सम्बन्धित समाचार