राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेको माग



बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् ।

वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर निहुराएको भन्दै लुम्बिनी प्रदेश सभाका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले उनलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

‘विगतमा पनि उहाँसंग जोडिएर पदीय मर्यादा बाहिरका विषयहरु आएका थिए, तर अहिलेको हर्कत आपत्तिजनक र निन्दनीय छ’–ढकालले अनलाइनखबरसंग भने, ‘आफूजस्तै अर्की महिलामाथि हातपातमा उत्रिनु लज्जाजनक हो, यसले सबै सांसद र प्रदेशबासीको शीर निहुराएको छ ।’ नेता ढकालले राज्यमन्त्री वलीलाई बर्खास्त नगरे प्रदेश सरकारको नालायकी पुष्टि हुने बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आफूले घटनाबारे समाचारमार्फत थाहा पाएको र थप बुझेर मात्रै प्रतिक्रिया दिने बताए ।

एकराजको घरमा उनकी श्रीमती र छोरीलाई हातपात गरेको खबर पाएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा राखेको छ ।

सम्बन्धित समाचार