विराटनगरमा पेस्तोलसहित एकजना पक्राउ



विराटनगर । विराटनगरमा मोरङ प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीको विशेष टोलीले चोरीको मोटरसाइकल खरिद गर्ने मोरङ बुढीगंगा गाउँपालिका– ६ घर भई सुनसरीको दुहबी नगरपालिका– ३ मा डेरा गरी बस्ने ३२ वर्षीय विनोद चौधरीलाई पक्राउ गरेको हो।

पक्राउ परेका चौधरीको डेराबाट चाइनिज पेस्तोल र धारिलो हातहतियार पनि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले मोटसाइकल चोरीमा संलग्न संजय चौधरी र विवेक चौधरीलाई यसअघि पक्राउ गरेको थियो।

चोरी आरोपमा पक्राउ पर्ने अभियुक्तले दिएको बयानको आधारमा विनोदले चोरीको मोटसाइकल खरिद गर्ने गरेको खुलेको थियो। शनिबार राति विनोदलाई पक्राउ गर्न गएको प्रहरी टोलीले उनको डेरा सर्च गर्ने क्रममा चाइनिज पेस्तोल, त्यसमा लाग्ने एक राउण्ड गोली र धारिलो हातहतियार बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका चौधरीले मोरङ र सुनसरीमा विभिन्न स्थानमा चोरी भएको मोटरसाइक खरिद गरी बिक्री वितरण गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ।

उनका अनुसार विनोदले भारतदेखि अवैध रूपमा पेस्तोल ल्याएर आपराधिक क्रियाकलापमा संलग्न भएको हुनसक्ने भएकोले प्रहरीले अनुसन्धान थालेको छ।

चोरीको मोटरसाइलक खरिद गरी कमिसन खाएर बिक्री गर्ने मुकुन्द चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरीले १ महिनाको अवधिमा मोटरसाइकल चोरीमा संलग्न १६ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै आएको छ। प्रहरीले उनीहरूको साथबाट २१ थान मोटरसाइकलसमेत फेला पारेको छ।

सम्बन्धित समाचार