‘सुनको लौरो’ झापा पुगेपछि विमानस्थल भन्सारमाथि पनि उठ्यो प्रश्न



संयुक्त अरब इमिरेट्स (युएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले विमानस्थलको भन्सार पार गर्दै व्यवसायी दुर्गा प्रसाईंलाई ‘सुनको लौरो’ उपहार दिएपछि विमानस्थल स्थित भन्सार कार्यालयमाथि प्रश्न उठेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालयले छानबिन थालेको बताए । ‘उहाँ शनिबार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन,’ उनले भने ।

भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए ।

लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनविज्ञ छ । यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो प्रकरणपछि विमानस्थलस्थित भन्सार कार्यालयको कार्यक्षमतालाई लिएर बहस सुरु भएको छ ।

 

 

सम्बन्धित समाचार