अब्दुस मियाँले काठमाडौं क्षेत्र ६ बाट उम्मेदवारी दिने



काठमाडौं । संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा उनले एक विज्ञप्ति जारी गर्दै यसअघि विवेकशील साझा पार्टीमा सक्रिय उनी पार्टीबाट अलग भएपश्चात् स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

नेपाललाई लोक कल्याणकारी राज्यमा रुपान्तरण गर्ने उद्देश्यका साथ विगत ५ वर्षदेखि म वैकल्पिक राजनीतिक यात्रामा लागिरहेको यहाँहरूलाई विदितै छ। तर वैकल्पिक राजनीतिले खेप्नुपरेको आरोह अवरोहका कारण तपाईंहरू समक्ष प्रतिबद्धता गरेअनुरुप सफलता प्राप्त गर्न सकिएको थिएन्, उनले फेसबुकमा लेखेका छन्, पछिल्लो समय मूलधारका राजनीतिक दलहरूले देखाएको विशृंखलता र निराशाजनक कार्यसम्पादनका कारण देशले खोजिरहेको विकल्पमा अझ बढी काम गर्नुपर्ने उत्तरदायित्व वहन गर्दै यहाँहरूसमक्ष आगामी प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु।

प्रतिनिधिसभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ आफू उम्मेदवार हुन लागेको उनले बताए।

उनले आफ्नो उम्मेदवारी किन भन्ने बारे पनि स्पष्ट पारेका छन्। पछिल्लो ५ वर्ष मलगायत कैयन् युवाले पार्टी निर्माणमा आफ्नो ऊर्जा, लगन र समय खर्च गर्‍यौं। तर प्रथम महाधिवेशनसम्म पुग्न नपाउँदै अधिकांश संस्थापक सदस्यले पार्टी परित्याग गरेको अवस्थामा अध्यक्षसमेतले राजीनामा दिएपश्चात विवेकशील साझा पार्टी विघटन भएको मेरो निष्कर्ष छु, उनले भने, तर वैकल्पिक शक्ति निर्माणको दायित्व र औचित्य सकिएको छैन। निर्वाचनपश्चात वृहत वैकल्पिक शक्तिको पुनर्गठनमा मेरो दायित्व इमान्दारीपूर्वक निर्वाह गर्नेछु। तर हालका लागि आसन्न निर्वाचनमार्फत प्रतिनिधिसभामा युवा नीति निर्माताका रुपमा उपस्थिति जनाउनुपर्ने भएकाले मैले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने निर्णय लिएको हुँ।

हालसम्मको अवस्था हेर्दा संसदलगायत राज्यको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाको खडेरी परेको प्रष्ट देखिएको उनले दाबी गरे।

यो अवस्थालाई सुधार्न धेरैभन्दा धेरै सक्षम युवाले नीति निर्माण तहमा पुग्ने इमान्दार प्रयास गर्नुपर्नेछ। तबमात्र हामीले समय सापेक्ष नीति, कानून र योजना निर्माण गर्न सक्नेछौँ। तसर्थ देशभरका १६५ निर्वाचन क्षेत्रबाटै सक्षम युवालाई उम्मेदवारी दिन आह्वान गर्न चाहन्छुु, उनले लेखेका छन्।

सम्बन्धित समाचार