मन्त्री हेरफेरबारे एकीकृत समाजवादीमा विवाद बल्झियो : तत्काल संसदीय दलको बैठक बोलाउन चार मन्त्रीसहित १० सांसदको माग



काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका चार जना मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रमा बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख छ । साथै आफूहरुलाई सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको टिप्पणी पत्रमा गरिएको छ ।

स्थायी कमिटीको बैठकमा समेत गठबन्धनमा समस्या भएकाले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत आजैरभोलि नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब राम्रो मान्न नसकिने पनि पत्रमा उल्लेख छ ।

हिजो बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि मागमा समर्थन जनाउनुभएको छ । पार्टीको निर्णयलाई मन्त्रीहरूले चुनौती दिएपछि एकीकृत समाजवादीभित्र विवाद थप बढेको छ ।

सम्बन्धित समाचार