मंगलबार हुँदैछ पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच बिहे



काठमाडौं । सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच मंगलबार विवाह हुने भएको छ । लामो समयको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् ।

नेवारी परम्पराअनुसार हुने बिहेको लागि यतिबेला दुवै जनाले तयारी गरिरहेका छन् भने आफन्त र निकट व्यक्तिलाई निम्तो पत्र पनि वितरण गरिरहेका छन् । मंगलबार गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ । नेवारी चलनअनुसार सोही रात बिहेको साइत रहेको सदीक्षा निकट स्रोतले जानकारी दियो ।

नेवारी परम्पराअनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । बल्ल त्यसपछि केटा पक्षले भोज दिने चलन छ । काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षाले एक वर्षदेखि डेट गरिरहेका थिए ।

उनीहरुले सामाजिक सञ्जालमा समेत आफ्नो सम्बन्धलाई खुला रुपमा प्रस्तुत गरिरहेका थिए । सदीक्षाले गत साता सम्पन्न डान्सिङ स्टार्स नेपालमा होस्टको रुपमा काम गरेकी थिइन् ।

 

सम्बन्धित समाचार