शङ्कास्पद अवस्थामा भारतीय नागरिक पक्राउ



शङ्कास्पद अवस्थामा एक जना भारतीय नागरिकलाई प्रहरीले मोरङको बूढीगङ्गा गाउँपालिका–४ बाट पक्राउ गरेको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बिआर १० एन ६६१७ नम्बरको भारतीय मोटरसाइकलमा सवार ३१ वर्षीय नवीन देवललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भारतको सुपौलका बासिन्दा देवललाई इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

देवलले बोकेको झोलाबाट एउटा ल्यापटप, विभिन्न कम्पनीका छवटा मोबाइल, भारतीय रूपैयाँ ४० हजार, नेपाली रूपैयाँ नौ हजार ४२ र एउटा खुकुरी बरामद भएको डिएसपी श्रेष्ठले बताए । बरामद भएको सामान र नगद चोरीको भएको हुनसक्ने प्रहरीको अनुमान छ । देवललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

 

सम्बन्धित समाचार