मोरङको जहदामा जन्तीमाथि आक्रमण, दुईजना घाइते



विराटनगर । मोरङको जहदा गाउँपालिका–२ मा बाटो छेकेर जन्तीमाथि आक्रमण गरिएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाबाट आएका जन्तीमाथि स्थानीय ६–७ जना युवाहरुको समूहले बाटोमा अवरोध गर्दै मंगलबार दिउँसो १ बजेतिर आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बेहुला सुनवर्षी नगरपालिका–९ डाइनियाका बिकी सिंहलाई लिएर जहदा–२ मझारे टोलका बुधन मण्डलको घरमा बेहुली लिन जाँदै गरेका जन्तीमाथि आक्रमण गरिएको हो ।

बेहुलीको घर पुग्न लगभग डेढ किलोमिटरजति बाँकी हुँदा बाटैमा गाडी रोकेर आक्रमण भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणमा परेर जन्ती आएका सुनवर्षी–९ का अन्दाजी २३ वर्षीय मिथलेश झा र रोहित सिंह घाइते भएका छन् । दुवैजनाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए । घटनामा को १८ प ७५४१ नम्बरको एउटा मोटरसाइकलमा आगजनी गरिएको छ ।

आगजनीबाट मोटरसाइकल पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भाएको आशंकामा जहदा–२ का विकास मण्डललाई नियन्त्रणमा लिएको छ । अन्य युवाहरु फरार रहेको र खोजी तीव्र पारिएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

उनका अनुसार जन्तीमाथि आक्रमण भए पनि बिहेमा भने कुनै असर पुगेन । बेहुला पनि सकुशल रहेको र बिहे सकिएपछि बेहुली लिएर जन्ती टोली सुनवर्षीतिर फर्किसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार