रामेछाप बस दुर्घटना : ज्यान गुमाउने १३ जनाकै परिचय खुल्यो



रामेछाप । रामेछापबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।

दुर्घटनामा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, बुद्ध लामा, रामबहादुर श्रेष्ठ, नेमा तामाङ, सन्जु आले मगर, विपना तामाङ र खटबहादुर तामाङको ज्यान गएको हो । यस्तै सुनापति गाउँपालिका ४ की समिता तामाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ की धनमाया तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ ।

२२ जना घाइतेमध्ये एक जना उपचारपछि डिस्चार्ज भएका छन् भने २१ जनामध्ये १२ जनाको धुलिखेल अस्पताल काभ्रे, सात जनाको बीएण्डबी अस्पताल काठमाण्डौ र दुई जनाको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको छ ।

आज बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटना थियो । कारण नखुलेको भए पनि ुब्रेक फेलु भएर दुर्घटना भएको अनुमान गरिएको छ । आज दुर्घटना भएको गाडी हिजो पनि ब्रेक फेल भएर विभिन्न समस्या देखिएको थियो । राम्ररी मर्मत नगरि चलाएकाले आज दुर्घटना हुन पुगेको सुनापती गाउँपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङले बताउनुभयो । बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार