आसन्न निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने माग



काठमाडौं । नेपाली जनता दलले आसन्न निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

आज पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले आसन्न संघ र प्रदेशको निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा गर्न सरकारसमक्ष आग्रह गरेको हो।

पार्टीले नेपाली जनताको त्याग, संघर्ष र बलिदानको उपलब्धिस्वरुप संघीयता, गणतन्त्र, धर्म निरपेक्षतासहितको समावेशी र लैङ्गिक समानता नेपालको संविधान २०७२ ले स्वीकार गरेतापनि अवस्थामा परिवर्तन नआएको गुनासो राखेको छ।

नेपालको संविधान २०७२ लाई पुरातनवादी शक्ति र अग्रगमनकारी शक्तिको बीचमा भएको सम्झौतामा जनताका धेरै महत्वपूर्ण र छुटाउनै नहुने विषयमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएको उक्त दलको ठहर छ।

प्रमुख राजनीतिक दलहरूको तानाशाही प्रवृत्तिको शिकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बन्न पुगेको भन्दै संघीय संरचनालाई नेता तथा कार्यकर्ताको भर्ती केन्द्रको रूपमा विकास गरेको समेत पार्टीले आरोप लगाएको छ।

गणतन्त्रलाई ‘छोटे राजा उत्पादन गर्ने भर्ती केन्द्र’ को संज्ञा दिँदै निर्वाचनलाई साम, दाम, दण्ड, भेद अर्थात् पैसा र पावरको विनिमयको रूपमा प्रयोग गरिएको समेत पार्टीको आरोप छ।

गत निर्वाचनमा जनताको अभिमतलाई किनबेच गरेको भन्दै विकृति र विसङ्गतिपूर्ण राजनीतिले विकास, सुशासन र समृद्धिको नाममा भ्रष्टाचार र व्यभिचारलाई बढावा दिएको समेत उक्त पार्टीले उल्लेख गरेको छ।

पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व सभासद हरिचरण साहले देशको ढुकुटी रित्तिन लागेको भन्दै दुःख व्यक्त गरे। उनले राष्ट्रको ढुकुटी रित्तिनुको एउटा कारण अहिलेको निर्वाचन प्रणाली भएको पनि टिप्पणी गरे। उनले भने, ‘देशलाई अस्थिरतामा राखिरहन, देशी विदेशी चलखेल नहोस् भन्नको लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता छ।’

सम्बन्धित समाचार