धरानमा धारिलो हतियार प्रहार हुँदा तीन जना घाइते



धरान । धरान १६ जोरसखुवा छेऊमा धारिलो हतियार प्रहार हुँदा तीनजना घाइते भएका छन् । घाइतेमध्ये दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार घाइते हुनेहरुमा टिकाराम राई, प्रदीप लिम्बू र टिका गुरुङ घाइते भएका छन् ।

करिब साढे ७ बजेतिर बिजुलीको गएको र सोही अवस्थामा मोटरसाइकलमा आएका अपरिचित युवाहरुको समूहले धारिलो हतियार प्रहार गर्दै घाइते बनाएको प्रहरीले जनाएको छ । कफी खाएर बसिरहेको अवस्थामा एक्कासी धारिलो हतियार प्रहार भएको घाइते युवाहरुले बताएका छन् । घाइतेमध्ये केहीको कान ताछिएको छ भने केहीको मुटु छेऊमा समेत धारिलो हतियार प्रहार भएको छ । एकजनाको हात समेत काटिएको र गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

सामान्य विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार भएको पाइएको प्रहरीले जनाएको छ । स्थानीयले खुकुरी प्रहार भएको बताएका छन् भने प्रहरीले भने कुन हतियार प्रयोग भएको हो भन्नेबारेमा खुल्न नसकेको जानकारी दिएको छ । आफूभन्दा साना युवाहरुको समूहले आफूमाथि आक्रमण गरेको घाइतेमध्ये एक युवाले जानकारी दिए ।

 

 

सम्बन्धित समाचार